२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मन्त्री आले भन्छन् – देश र नागरिकको काम गरेरै ७ महिना बिताएँ ।

जेठ २३, काठमाण्डौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा

काम गरेर बिताएको बताउनुभएको छ । आज सोमवारको सङ्क्षिप्त कुराकानीमा मन्त्री आलेले भन्नुभयो, मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु ।

मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम गरेँ । उहाँले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा कामको थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो ।

मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहको उपस्थितिलाई फिर्ता गरी त्यस समूहले गरेका कामलाई देश र जनताका पक्षमा ल्याएको दाबी पनि गर्नुभयो ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको सहुलियतका लागि शटल बस सञ्चालनमा ल्याएको र क्यासिनो सञ्चालकबाट सरकारलाई ठूलो रकम राजस्व तिराएको तथा नतिर्ने तारे होटेललाई कारबाही गरेको उहाँले जानकारी दिनुभयो ।

आफू पदमा रहँदा होस् वा नरहँदा देश र नागरिककै पक्षमा काम गर्ने तथा वकालत गर्ने भएकाले आफू सधैँ देश र नागरिकको हकहितका लागि लाग्ने पनि उहाँले बताउनुभयो ।

हिजो आइतवार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालयको बैठकले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री फिर्ता बोलाउने निर्णय गरी नयाँ मन्त्रीहरूको नाम पठाइसकेको छ ।

यसअघि नै आलोपालो गरी मन्त्री बनाउने आफ्नो पार्टीको सर्तमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेको र अहिले फिर्ता बोलाउने निर्णय गरेकाले आफूले पार्टीको निर्णय मानेर फिर्ता हुने पनि मन्त्री आलेले बताउनुभयो ।

२०७९ जेष्ठ २३, सोमबार प्रकाशित 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।