२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

महानगरमा एमाले शून्य, एकीकृत समावादी र स्वतन्त्रले खोस्यो !

जेठ १३, काठमाडौं : स्थानीय तह निर्वाचन-२०७९ अन्र्तगत काठमाडौं महानगरपालिकाको मत परिणाम आएसँगै देशका ६ वटै महानगराको नजिता सार्वजनिक भएको छ ।

देशभरका पालिकाको नतिजामा पहिलो बनेको नेपाली कांग्रेस महानगरमा पनि पहिलो नै बनेको छ । कांग्रेसले दुई वटा महानगर हात पारेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत

समाजवादीले एक-एक महानगर जितेका छन् । एक महानगर भने स्वतन्त्रको पोल्टमा गएको छ । स्थानीय तह निर्वाचनमा दोस्रो बनेको नेकपा एमालेले भने महानगरमा शून्य भएको छ । अघिल्लो निर्वाचनमा दुई वटा महानगर जितेको एमालेले यसपटक विरासत जोगाउन सकेन ।

२०७४ को निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगर जितेको थियो । यसपटक पोखरा महानगर एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीले जितेको छ भने काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी भएको छ ।

यसपाली पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचाय निर्वाचित भएका छन् । उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले हराए । आचार्यले ५८ हजार ८९३ मत पाएका छन् भने थापाले ५२ हजार ८४८ मत ल्याएका छन् ।

काठमाडौंमा भने स्वतन्त्र उम्मदेवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । कांग्रेस दोस्रो स्थानमा रह्यो भने यसअघि जितेको एमाले भने तेस्रो भयो । बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार दिएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा विराटनगर र ललितपुर महानगरमा जितको कांग्रेसले यसपटक पनि विरासत जोगाएको छ । विराटनगरमा कांग्रेसका नागेश कोइराला र ललितपुर कांग्रेसका चिरिबाबु महर्जन निर्वाचित भएका छन् ।

विराटनगरमा नागेशले एमालेका सागर थापालाई ९ हजार बढी मतान्तरले हराउँदा ललितपुरमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार चिरिबाबुसँग १२ हजार ९४३ मतान्तरले पराजित भए ।

भरतपुरमा भने माओवादी केन्द्रले आफ्नो विरासत जोगाएको छ । अघिल्लो निर्वाचनमा मेयर बनेकी माओवादी केन्द्रकी रेनु दाहाल यसपटक दोहोरिएकी छन् । उनले एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले हराइन् ।

त्यस्तै वीगन्जमा पनि जसपाले विरासत जोगएका छ । जसपाका राजेशमान सिंहले एमालेका विजय सरावगीलाई साढे २२ हजार मतान्तरले पराजित गरेका छन् ।

मेयरमा शून्य भएको नेकपा एमालेले उपमेयरमा भने ४ वटा महानगरमा जित निकालेको छ । एमालेले यसपालि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको छ । काठमाडौंमा सुनिता डंगोल, पोखरामा मञ्जुदेवी गुरुङ, ललितपुर मन्जली शाक्य बज्राचार्य र विराटनगर शिल्पा कार्की निर्वाचित भएका छन् ।

महानगरको अन्य दुई उपप्रमुखमा भने कांग्रेले हात पारेको छ । भरतपुरमा कांग्रेका चित्रसेन अधिकारी र वीरगन्ज इम्तियाज आलम विजयी भएका छन् । प्रमुखमा एक-एक महानगर जितेको मओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले भने उपप्रमुखमा शून्य भएका छन् ।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 1 Minute 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।