
जेठ १०, काठमाडौ : भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै गन्तब्य मुलकमा जान चाहने नेपाली कामदार भिसा र मेडिकल परीक्षणको लागि काठमाडौ नै आउनुपर्ने बाध्यता छ।
हालसम्म म्यानपावर कम्पनीले शाखा विस्तार गरेका छैनन् र स्वास्थ्य परीक्षण संस्था पनि काठमाडौ केन्द्रित छन्। जसले गर्दा पहिलो पटक विदेश जाने कामदार काठमाडौंमै आउनुपर्ने बाध्यता छ।
तर, श्रममन्त्री श्रेष्ठले भने केही दिनमा नै रुपन्देहीमा शाखा कार्यालय विस्तार गरिने बताउँछन्। हालको व्यवस्था अनुसार कतार जाने कामदारले कतार भिसा सेन्टरबाट नै मेडिकल परीक्षण गर्नुपर्नेछ । कतार भिसा सेन्टर काठमाडौंमा मात्रै छ।
त्यस्तै साउदी अरब, बहराइन र ओमन जाने कामदारले गाम्का (गल्फ अप्रुभ मेडिकल सेन्टर एशोसियसन) अन्र्तगत रहेको १२ वटा मेडिकलबाट मात्रै परिक्षण गर्नुपर्नेहुन्छ। यी स्वास्थ्य संस्थाहरू पनि काठमाडौंमा मात्रै छन्।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा मेडिकल छनोट भएका छन्। ती मेडिकल पनि काठमाडौंमा नै केन्द्रित छन्।
तर, यूएई र कुवेत जाने कामदारले भने कुनै पनि मेडिकलमा परीक्षण गर्न सक्नेछन्। श्रम मन्त्रालयले सम्बन्धित मुलुकका राजदूतलाई बोलाएर रुपन्देहीमा नै सबै व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताएका छन्।