
जेठ १०, काठमाडौं : श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित आवश्यक सबै काम भैरहवाबाटै सञ्चालन गर्ने तयारी थालेको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक सम्पूर्ण सेवा सुविधा रुपन्देहीमा नै उपलब्ध गराइने गरी काम अगाडी बढाइएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बताए।
आगामी असार महिनादेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै नेपाली श्रमिक वैदेशिक रोजगारीमा उड्न सक्नेछन्। १ असारदेखि औपचारिक रुपमा नै यसको सुरूवात गरिने मन्त्री श्रेष्ठको भनाइ छ।
अहिलेसम्म रोजगारीका लागि विदेश जाने कामदारले अपनाउनुपर्ने प्रक्रिया काठमाडौंमै पूरा गर्नुपर्दथ्यो। म्यानपावर कार्यलयदेखि अन्तराष्ट्रिय विमानस्थल काठमाडौं केन्द्रित हुँदा कामदारले अन्तर्वार्तादेखि गन्तव्य मुलुकसम्म पुग्नको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ।
तर, गत सातादेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै विदामा आएका श्रमिक पुन : सोही काममा फर्किन भने काठमाडौं धाउनुपर्ने बाध्यता हटेकाे छ।
तर, भिसा र मेडिकल परीक्षणको सेवा काठमाडौमा नै सीमित हुँदा पहिलो पटक विदेश जाने कामदार भने काठमाडौं नै धाउनुपर्ने बाध्यता यथावत छ। मन्त्रायलले भने अबको एक महिनामा सबै खालको सेवा रुपन्देहीमा नै उपलब्ध गराउने दावी गरेको छ।