२०७९ असार १५ बुधबार
  • काठमाडौँ

धरानको मेयरमा यसरी भयो हर्कराज साम्पङ्को उदय

काठमाण्डाै : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अघि हुनुहुन्छ, धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भइसक्नुभएको छ ।

बालेन र गोपाल आ–आफ्नो क्षेत्रमा पहिल्यै चर्चित भएकाले धेरै अनौठो विषय भएन । तर धरानमा भने अहिलेसम्म आफ्नो फरक परिचय नबनाएका एक आम सर्वसाधारण हर्कराज साम्पाङ राईले मेयर जितेर धेरैलाई ‘सरप्राइज’ दिनुभएको छ ।

वैदेशिक रोजगारीको क्रममा इराक र अफगानिस्तानमा ६ वर्ष जागिर गरेर फर्किएका ४० वर्षका राईले धरानमा रहेको आफ्नै घरमा किराना पसल खोलेर श्रीमतीलाई जिम्मा दिनुभयो, केही अटोरिक्सा किनेर भाडामा दिनुभयो । आफू भने धरानवासीका समस्या समाधानका लागि सरकारी कार्यालयका ढोका ढकढकाउन थाल्नुभयो ।

धरानमा वर्षाैँदेखि मुख्य समस्याको रूपमा रहेको खानेपानीलाई मुद्दा बनाएर विभिन्न आन्दोलन गर्नुभयो । सुकुम्वासी बस्तीमा डोजर चलाउँदा विरोध गर्नुभयो, नागरिकका समस्या समाधान गर्ने कोसिस नै राईको दैनिकी थियो ।

कैयौँपल्ट पुलिसले थुनामा राख्यो । २०७६ सालमा भएको उपचुनावमा मेयरमा उम्मेदवारी दिनुभएका राईले जम्मा चार सय २२ मत ल्याउनुभयो । तर हिम्मत हार्नुभएन, राईको पक्षमा खुलेर लाग्ने मान्छे खासै भेटिएनन् तर पनि एक पटक धरानको नेतृत्व गर्दै काम गरेर देखाइदिने हुटहुटी बोकेका राईले मेयर पदमा उम्मेदवारी दिनुभयो ।

उम्मेदवारी दिएपछि ठूला दलले दिनदिनै हजारौँको सङ्ख्यामा मान्छे जम्मा गरेर आमसभा, र्‍याली र घरदैलो गरे, साङ्गीतिक कार्यक्रम गरे, टोल टोलमा निर्वाचन परिचालन समिति बनाए, उम्मेदवारका पक्षमा गीत सङ्गीत सिर्जना भए, टोल बस्ती दलकै उम्मेदवारको प्रचारले गुञ्जायमान भए ।

तर हर्कराज राईको पक्षमा मानिसहरू खुलेर लागेनन्, घरदैलो अभियानमा पनि खासै साथ पाउनुभएन । चोक–चौतारोमा भाषण गर्नुहुन्थ्यो तर सुन्ने मान्छे थिएनन् । राईले अटो रिक्सामा एक्लै भाषण गर्ने, आफैँ गितार बजाउँदै गीत गाउने र धरानको समस्या धरानवासीले नै समाधान गर्नुपर्छ भन्दै मत माग्न छाड्नुभएन ।

दलहरूले पछिल्लो तीन दशकदेखि धरानमा जे गर्छु भनेर चुनाव जिते ती कुनै पनि वाचा पूरा नगरेकाले उनीहरूलाई भरोसा गर्न नहुने आफ्नो अडानलाई उहाँले एक्लै भए पनि सबैतिर पुर्‍याउनुभयो ।

सामान्य जीवनशैली र सिधा कुरा गर्ने हर्क राईको पक्षमा मौन अवधि सुरु हुने बेलासम्म पनि मानिसहरू खुलेर कुरा गर्दैनथे । गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका उम्मेदवार किशोर राई र एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारीले स्वतन्त्र उम्मेदवार राईको पक्षमा जनमत नरहेको आँकलन गरे, उहाँलाई वास्ता गरेनन् ।

तर मौन अवधि सुरु भएपछि दलहरूले चाल पाए, टोल–गल्ली घरघरमा जताजतै हर्कको चर्चा सुरु भइसकेछ । हर्कराजको पक्षमा चहलपहल बढिसकेको थियो । तर पनि दलहरूलाई हर्कले जित्छन् भन्ने विश्वास नै थिएन । वैशाख ३१ गते मतगणना सुरु भयो, गठबन्धनका उम्मेदवारको अग्रता, दोस्रो स्थानमा एमाले, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई । जेठ ३ गतेसम्म अवस्था यस्तै थियो तर त्यसपछि हर्क राईको मत बढ्यो, घरिघरि पहिलो नम्बरमा जान थाल्नुभयो, दलहरू झस्किन थाले । पछिल्लो तीन दिनदेखि त हर्क राई पहिलो नम्बरबाट दोस्रो नम्बरमा झर्नुपरेन ।

अन्ततः राईले धरान उपमहानगरपालिकाको मेयर जित्नुभयो । धेरैले नपत्याएका राई अब धरान उपमहानगरको मेयर बन्नुभएकाे छ । पहिले यो काम भएन, त्यो काम भएन, तुरुन्त हुनुपर्‍याे भन्दै सरकारी कार्यालय चहार्ने राई अब आफैँ काम गर्ने र निर्देशन दिने ठाउँमा पुग्नुभएको छ । धरानमा खानेपानीको समस्या समाधान गर्ने मुख्य वाचा गर्नुभएका उहाँको परीक्षा आजैदेखि सुरु भएको छ ।

बिजुली र ढलको समस्या, सुकुम्वासी समस्या समाधान, अवैध क्रसर नियन्त्रण, सडक विस्तार लगायतका काम उहाँले गर्नुपर्नेछ । दलहरूले नागरिकको पक्षमा काम नगर्दा एक भुइँ मान्छे कसरी मेयर बन्छ भन्ने उदाहरण दिएका राई आफ्ना प्रतिबद्धता पूरा गर्न कत्तिको सफल हुनुहुनेछ, दिनगन्ति आजैदेखि सुरु भएको छ । उज्यालो अन्लाईन

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार