२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा !

जेठ ८, भैरहवा : जिल्ला प्रशासन कार्यालय रूपन्देही नजिकै वैदेशिक रोजगार कार्यालय भैरहवा स्थापना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले

शनिबार वैदेशिक रोजगार कार्यालय रहने भवनको स्थलगत अवलोकन गरेका छन् । उक्त स्थान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि करिब साढे चार किलोमिटरको दुरीमा रहेको छ ।

मन्त्री श्रेष्ठले शुक्रबार भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जानेहरुलाई सरल र सहज सेवा दिन जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका थिए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै स्थानीयस्तरमा संचालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू गरेको जजिरा एयरवेजका नेपाल प्रतिनिधिले काठमाडौंबाट यात्रु लगेर उडान गर्न नसकिने भन्दै जेठ महिनाभित्र स्थानीयस्तरमा श्रम स्वीकृति दिने व्यवस्था गर्न आग्रह गरेका थिए ।

शुक्रबारको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीसहित सरोकारवलाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रिया भैरहवाबाटै पूरा हुनुपर्ने माग गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि वैदेशिक रोजगार सम्बन्धी कार्यालयका साथै म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि निकट भविष्यमै विस्तार गर्ने योजना रहेको बताएको छ ।

मन्त्री श्रेष्ठले काठमाडौंमा रहेको कतार भिसा सेन्टर (क्यूभीसी) र रोजगारीका लागि साउदी अरब जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गाम्का अन्तर्गतका मेडिकलहरूलाई भैरहवामा स्थानान्तरण गर्न आग्रह गरिसकेको हाल गृहजिल्ला रूपन्देहीमा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमलप्रसाद ढकालले मध्यान्हलाई जानकारी दिए ।

संयोजक ढकालले मन्त्रालयले आवश्यकताका म्यानपावर कम्पनीका शाखा अनुमति दिनुपर्ने र भैरहवा विमानस्थललाई लक्षित गरी रुपन्देहीमा शाखा खोल्ने अनुमति दिन ढिला गर्न नहुने पक्षमा संघ रहेको बताए ।

यसैबीच मन्त्री श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन् । बुटवल तामनगरस्थित कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको शनिबार अवलोकन गर्दै

मन्त्री श्रेष्ठले सीपयुुक्त जनशक्ति उत्पादनका लागि शिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सीपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको मन्त्री श्रेष्ठले बताए ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।