
भैरहवा : सुनवल नगरपालिका ४ नवलपरासीका सूर्यप्रसाद खनाल पहिलो पटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्समार्फत सोमबार बिहान कुवेत हुँदै दुबई जान पाउँदा निकै खुसी देखिन्थे।
विगत २५ वर्षदेखि युनाइटेड अरब इमिरेट्सको दुबई सहरमा ‘सिभर स्पुन’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका उनी वर्षको तीन–चार पटक नेपाल ओहोरदोहोर गरिरहन्छन्। ‘पहिला विदेश जान काठमाडौं नगई सुखै थिएन’, भैरहवा विमानस्थलमा हातमा
पासपोर्ट लिएर बसेका खनालले भने– ‘अहिले त घरआँगनबाटै विमान चढेर जान पाउँदा औधी खुसी लागेको छ।’ खनालको घरदेखि अहिलेको विमानस्थलको दूरी झण्डै ४० किलोमिटर रहेको छ। अहिले आफ्नै घरछेउँबाटै विदेश जान पाउँदा उनको मुहारमा खुसी छचल्किरहेको थियो।
यसअघि उनलाई विदेश जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विकल्प थिएन् तर अहिले उनलाई विदेश जान भैरहवा अत्यन्तै सरल र उपयुक्त विमानस्थल बनेको छ।
सुनवलबाट काठमाडौं जान भैरहवा हुँदै आन्तरिक उडान र स्थलमार्ग दुईवटा मात्रै विकल्प थिए। दुईमध्ये कुनै एक माध्यमबाट जाँदा पनि पैसा र समय दुवै धेरै खर्च हुने गथ्र्याे। अहिले भने लुम्बिनी प्रदेश आसपासका जनतालाई आफ्नै घरदैलोमै बनेको अन्तर्राष्ट्रिय विमानस्थलले विदेश आउजाउ गर्न निकै सहज बनाइदिएको छ।
सुनवलबाट काठमाडौं जाँदा एकातर्फ आर्थिक खर्च धेरै हुन्थ्यो भने अर्काेतर्फ समय पनि धेरै लाग्ने गथ्र्याे। भैरहवा विमानस्थलबाट करिब ४० किलोमिटर मात्रै टाढा रहेका उनी अहिले गाउँनजिकको शहरबाट सोझै विदेश जान पाएका छन्। ‘विदेश जान पहिला त्रिभुवन विमानस्थल जानुको विकल्प थिएन’, उनले भने– ‘अहिले त घरआँगनबाटै विदेश जान पाउँदा एकातर्फ खर्च घटेको छ। अर्काेतर्फ समयको बचत भएको छ।’
गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै खनालको पैसा र समय दुवैको बचत हुँदा निकै खुसी छन्। यशोधरा गाउँपालिका वडा नम्बर ४ कपिलवस्तुका रियाजुल्लाह मुसलमान पनि पहिलो पटक भैरहवा विमानस्थल हुँदै कतार जाँदैछन्। उनी पनि आफ्नै गाउँठाउँमा बनेको विमानस्थलबाट पहिलो पटक वैदेशिक रोजगारीको लागि कतार जाँदैछन्।
‘यहाँबाट काठमाडौं जान धेरै दिक्कत हुन्थ्यो। बाटो खर्च र होटेलमा बस्ने खर्च धेरै लाग्ने गथ्र्याे’, विमानस्थलमा भेट्टिएका उनले भने– ‘खर्च धेरै लाग्ने कारणले परिवारका सदस्यलाई बिदाइको लागि काठमाडौं लैजान सकिदैनथ्यो तर यहाँ त सजिलै ल्याउन सकियो नि।’
छोरा रियाजुल्लाहलाई बिदाइ गर्न आएका बाबु मिल्यातुल्लाह मुसलमानले आफ्नै ठाउँमा विमानस्थल हुँदा धेरै सजिलो हुने प्रतिक्रिया दिए। ‘हामीलाई काठमाडौं जान धेरै अप्ठेरो हुन्थ्यो’, उनले भने– ‘बिहान घरबाटै छोरालाई बाइकमा ल्याएर बिदाइ गर्न पाए।
यो धेरै सुखद् कुरा हो नि!’ सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झण्डै सात दशकपछि सोमबारदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै लुम्बिनी प्रदेश र यस प्रदेशसँग जोडिएका अन्य प्रदेशका यात्रुलाई आउजाउ गर्न धेरै सहज हुने अपेक्षा गरिएको छ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कुनै आकस्मिक कारणले त्रिभुवन विमानस्थलमा विमान अवतरण गर्न नसकेको खण्डमा छिमेकी मुलुक भारत तथा बंगलादेशमा विमान डाइभर्ट गरेर अवतरण गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।
बुद्धिष्ट सर्किटको प्रवद्र्धनमार्फत धार्मिक पर्यटनको विस्तार
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक औपचारिक कार्यक्रमकाबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरे। ‘आजको दिन नेपालको पर्यटन तथा नागरिक उड्डययन क्षेत्रको विकासको लागि ऐतिहासिक महत्व राख्ने दिन हो।
काठमाडौंपछिको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दूरगामी सकारात्मक योगदान पुग्नेमा कुनै दुई मत छैन’, प्रधानमन्त्री देउवाले भने– ‘यस विमानस्थलको
सञ्चालनबाट शान्तिका अग्रदूत गौतमबुद्धको पावन जन्मस्थललाई विश्वभर थप परिचित गराउन र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न ठोस सहयोग पुग्ने मैले विश्वास लिएको छु।’ प्रधानमन्त्री देउवाले आन्तरिक तथा अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्दै मुलुकलाई उन्नति र प्रगतिको पथमा अघि
बढाउन, पर्यटन क्षेत्रको विकास गर्न तथा आय रोजगारीका अवसर सिर्जना गरी दिगो आर्थिक विकासका लक्ष्यहरू हासिल गर्न नियमित र भरपर्दाे हवाई सेवाको विकास गर्नु आवश्यक भइसकेको बताए। प्रधानमन्त्री देउवाले आजदेखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलको सफलताले नेपालको उड्डयन क्षेत्रको साथै समग्र अर्थतन्त्रको विस्तारमा समेत सकारात्मक योगदान पु¥याउने सुनिश्चित भएको बताए।