
काठमाडौ : भोट बटुल्नु थियो, मतदाता जम्मा गरे। बस–माइक्रोबस जे भेटिन्छ, त्यही बुकिङ गरे। झन्डा हल्लाउँदै काठमाडौंलगायत मुख्य सहरका मतदातालाई गाउँ–गाउँ पुर्याए।
पार्टी र उम्मेदवारबीच मतदाता लैजान ‘हारालुछ’ नै चल्यो। ‘जाने र खाने फ्री’ अफरपछि अधिकांश मतदाता पनि हौसिएर गाउँ पुगे। उत्साहित हुँदै मतदान गरे। तर, जब मत खसाए। काठमाडौंलगायत सहरबाट ल्याउने नेताहरू एकाएक ‘गायब’ भए।
त्यसपछि भयो, ‘मतदाताको बिल्लिबाठ।’ आफैंले टिकट काटेर सहर फर्किन खोज्दा पनि गाडी नै नभेटिएपछि अधिकांशले सास्ती भोगिरहेका छन। काठमाडौं, पोखरा, चितवन जाने यात्री गाडी खोज्दै यताउता भौतारिरहेका छन। वृद्धवृद्धा सडकपेटिमा थकित भएर थुचुक्क बसेका छन्।
गर्भवती तथा बालबालिका बोकेका महिलाहरू पनि बस खोज्दै यता र उता दौडिरहेका छन। यो दृश्य हो, मंगलबार बिहान गोरखा बसपार्कको। यात्रुको बिचल्लिप्रति यातायात व्यवसायीलाई भने कुनै मतलब छैन।
उल्टै, यात्रुसित बढाबढमा भाडा बार्गेनिङ गरिरहेका छन्। सडक छेउमा यात्रुको चाप र हतास देखेर लुट मच्चाइरहेका छन्। स्थानीय प्रशासन तथा प्रहरीको उपस्थिति कहीँकतै छैन।
चुनावमा मतदान गर्न गाउँ आएका मतदाताहरू फर्कने उचित व्यवस्था नहुँदा केही दिनदेखि गोरखामा यस्तो समस्या देखिएको हो। अनेक प्रलोभन देखाएर गाउँमा ल्याएर नेताहरूले अलपत्र पारेर छाडिदिएको यात्रुहरूको गुनासो छ। काठमाडौं फर्कन साबिकको भन्दा दोब्बर गाडीभाडा तिर्नुपरेको ताकुकोटका पवन देवकोटाको भनाइ छ।
फ्रीमा लगिदिन्छौं, फ्रिमै फर्कने व्यवस्था मिलाउँछौं भनेर अनेकभाँती भनेर ल्याए,’ उनले भने, ‘फर्किने बेला कसैको अत्तोपत्तो छैन। सित्तै जान पाइयो भनेर आइयो। फर्कने बेला उल्टै दोब्बर भाडा तिर्नुपर्यो।’ एक हजार रुपैयाँ भाडा तिरेर माइक्रोबसमा काठमाडौं फर्कन लागेको उनले बताए।
काठमाडौंको समाज छिटोछिटो परिवर्तन चाहन्छ। राजनीतिक दलले उनीहरूको भावनालाई सम्बोधन गर्ने उम्मेदवार खडा गरेनन। विगतमा पनि युवा मतदातालाई आकर्षित गर्ने कुनै काम गरेनन। पुरानै शैलीले काम गरे। उनीहरूले उठाएका उम्मेदवार पनि युवालाई तान्ने किसिमका भएनन।
तुलनारायण साह, राजनीतिक विश्लेषक
गोरखा–काठमाडौंको माइक्रोबस भाडा ५ सय ३० रुपैयाँ हो। मिनिबसको भाडा ४ सय ४५ रुपैयाँ प्रचलित छ। तर, अहिले मिनिबसले यात्रुसँग आठ सय र माइक्रोबसले १ हजार रुपैयाँ भाडा उठाएका छन्।
आजभोलि काठमाडौं जाने मात्र हो। फर्कने यात्रु पाइँदैनन। त्यसैले दोब्बर भाडा असुलेको हो’, एक गाडीवाला यात्रुसितको बार्गेनिङमा भन्छन्, ‘जाने भए, आउनुस। नजाने भए यस्ता यात्रु धेरै पाइन्छ।’ अन्नपूर्णमा खबर छ ।