
जेठ ५, काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ११२०४ मतले अघि रह]का छन् ।
दिउँसो तीन बजे प्राप्त मतगणनाअनुसार बालेन २३५८४ मत पाएका छन् । स्थापितले १२३८० मत पाएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ११४९९ मत पाएकी छन् ।
उपमेयरतर्फ सुनिता डंगोलले मत फराकिलो बनाएकी छन् । उनले १९९५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ६३१६ मत पाएका छन् । अन्य प्रतिस्पर्धीले दुवैलाई पछ्याइरहेका छन् ।
थप समाचार, काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उनी नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन् ।
त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा सन्ध्यदेवी खनाल र दलित महिला सदस्यमा कलपना सार्की (वयल्कोटी) विजयी भएका जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् ।
त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २० हजार ९९० मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले ११ हजार ८३ मत प्राप्त गरेका छन् । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले १० हजार २९८ मत पाएका छन् ।