२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

सुबास नेम्बाङ भन्नुहुन्छ – सबै दल मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा नेपालमा मात्रै देखियाे ।

काठमाण्डाै : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर एक्ल्याउने ढङ्गले काम गर्नु आश्चर्य भएको बताउनुभएकाे छ ।

आज मङ्गलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उपाध्यक्ष नेम्वाङले सबै दल मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गर्नुभयो । उहाँले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई सबै मिलेर एक्ल्याउने प्रयास भए पनि हामीले दृढतापूर्वक सामना गरेर आएको परिणामबाट म उत्साहित छु । जे भएको छ त्यो गलत भएको छ ।

गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ । मूल्य, मान्यता विपरीत भएका गठबन्धनहरू देश र जनताको हितमा हुँदैनन् ।’

यसैबीच उपाध्यक्ष नेम्वाङले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्नेबारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पालिका चुनावकाे नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताउनुभयो । उहाँले पालिका चुनावमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

प्रमुख सचेतक भट्टराईले पालिका चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमकाे घेराबन्दी गर्दा पनि नतिजा राम्रो आइरहेको बताउनुभयो । उहाँले चुनावकाे नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताउनुभयो ।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 0 Minutes 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।