२०८० फाल्गुन १५ मंगलवार
  • काठमाडौँ

काठमाडौको मेयर बारे अहिल्यै निष्कर्षमा नपुगौं, हामी राम्रोसँग कमब्याक गर्छौं

जेठ ४, काठमाडौ : काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा जति रोमाञ्चक छ, उपमेयरको प्रतिस्पर्धा त्यति छैन।
उपमयेरमा नेकपा एमालेकी सुनिता डंगोल आफ्ना विपक्षीभन्दा तीन गुणा बढी मतले अघि छिन्।

पछिल्लो मत परिणामअनुसार सुनिताको ९४२१ मत छ। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको २६६४ मत छ। सुरूआती चरणमै धेरै मतान्तर भएपछि उपमयेरमा डंगोलले सजिलै बाजी मार्ने बाहिर अड्कल हुन थालेको छ।

डंगोलले आफूले पाएको मत काठमाडौंवासीको माया र विश्वास रहेको प्रतिक्रिया दिएकी छन्। उनले सेतापाटीसँगको कुराकानीमा भनिन्, ‘जति धेरै मत बढिरहेको छ त्यति नै जिम्मेवारी महसुस भइरहेको छ। यो मत काठमाडौंवासीले ममा देखाउनुभएको माया र विश्वास हो।’

मिस नेवा-२०११ की विजेतासमेत रहेकी डंगोलले सुरूमा यसपालि काठमाडौंको मेयरमै उठ्ने चाहना राखेकी थिइन्। त्यसका लागि उनी सकेसम्म कुनै दलसम्म मिलेर जाने नभए स्वतन्त्र नै उठ्ने सोचमा थिइन्।

तर अन्तिम समयमा एमालेले उपमेयरको प्रस्ताव गरेपछि डंगोल त्यसका लागि राजी भइन्। उपमेयरमा डंगोलले उल्लेखित मत पाइरहँदा एमालेबाटै मेयर उम्मेदवार केशव स्थापितले भने उनको जसरी मत पाइरहेका छैनन्। डंगोलले झन्डै १० हजार मत पाउँदा स्थापितको ५८४१ मत छ।

उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पाँच हजार बढी मतले पछि पारेका छन्। बालेनले सुरूदेखि जसरी अग्रता लिइरहेका छन्, बाहिर मानिसहरूमा उनले नै मेयर जित्ने कुराकानी हुन थालेको छ।

डंगोल भने मेयरको नतिजा अहिले नै अनुमान गर्न नसकिने बताउँछिन्। मतगणना सुरूआती चरणमा रहेको उल्लेख गर्दै डंगोलले सेतोपाटीसँग भनिन्, ‘धेरै मतगणना भइसकेको छैन। मेरै हकमा पनि म धेरै रोमाञ्चित भएकी छैन। त्यसैले अहिले नै ‘कन्क्लुजन’ मा पुग्नु हुँदैन।’

डंगोलले अझै धेरै मत गन्न बाँकी रहेको उल्लेख गर्दै मेयरमा एमालेकै जित हुने बताइन्। ‘मलाई हामी राम्रोसँग कमब्याक गर्छौं भन्ने लाग्छ। धैर्य साथ कुरिरहेकी छु। म अझै आशावादी छु,’ उनले भनिन्।

अहिले केही वडाहरूको मात्र गणना भइरहेको भन्दै सबै ठाउँमा एउटै पक्षको वर्चस्व नहुने डंगोलको भनाइ छ। उनी भन्छिन्, ‘अहिले चार-पाँच वटा वडाको मात्र गणना भएको छ। सबै ठाउँमा सबैलाई बराबरी मन पराउँछन् भन्ने छैन। म चाहिँ ‘वेट एन्ड वाच’ भन्छु। नतिजा आएपछि थाहा भइहाल्छ।’

केशव स्थापित आफैंले पनि आफ्नो जित सुनिश्चित रहेको प्रतिक्रिया दिइसकेका छन्। उनले यसअघि सेतोपाटीसँग कुरा गर्दै आफूले जित्ने र बालेन शाह तेस्रो हुने बताएका छन्।

‘मतगणना भित्री सहर प्रवेश नगरेसम्म राय बनाउन जरूरी छैन, स्थापितले आइतबार सेतोपाटीसँग भने, जित्ने मैले नै यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नु होला। बालेन तेस्रो हो।

२०७९ जेष्ठ ३, मंगलवार प्रकाशित 1 Minute 300 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।