
काठमाडौ : रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा मतगणना जारी छ। हालसम्म त्यहाँको वडा नं १ को मात्र अन्तिम परिणाम सार्वजनिक भएको छ भने अरू वडाको मतगणना जारी छ।
मत गनिरहँदा त्यहाँका गणकहरू बेलाबेलामा उत्साहित हुँदै कराउँछन्- “ल बालेन आयो, बालेन।” अनि वरपर बसेका सबैजना गलल्ल हाँस्छन्। वास्तवमा कुनै मतपत्रमा लौरो चिह्नमा स्वस्तिक छाप लागेको देखिए गणकहरूले त्यसलाई
“बालेन”को सङ्ज्ञा दिने गरेको बताउँछन् नगर प्रवक्ता सुरेन्द्र श्री। तिलोत्तमामा मेयर पदका लागि कुनै पनि उम्मेदवारले लौरो चिह्न लिएका छैनन्। तर पनि लौरोमा छाप लाग्नु रोचक विषय भएको उनले बताए।
“मत गन्ने तनावबीच रमाइलोका लागि त ठिकै हो। तर सामाजिक सञ्जालमार्फत् भएको बालेनको प्रचारप्रसारको प्रभाव देखिन्छ,” श्रीले बीबीसीसँग भने।
“विशेषगरी युवापुस्ताहरू देशव्यापी रूपमा लौरो चिह्नमा मेयर उम्मेदवारलाई मत दिन मिल्छ भन्ने भ्रम रहेको देखिन्छ।”
उनका अनुसार लौरोमै छाप लगाएका कारण मतहरू बदर भइरहेको उनले बताए। यद्यपि उक्त सङ्ख्या त्यति ठूलो भने छैन।
दल त्यागेर लौरोको
गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य थिए जयराम महत। वि.सं. २०४६ सालदेखि प्रत्यक्ष वा परोक्ष रूपमा आफू नेपाली कांग्रेसमा संलग्न रहेको बताउने उनको नाम यस पटक स्थानीय तह निर्वाचनमा वडाध्यक्षका लागि सिफारिस भएको थियो। तर उनले टिकट पाएनन्।
स्थानीय बासिन्दाहरूको सल्लाह र सुझावअनुरूप उनले स्वतन्त्र रूपमा चुनाव लड्ने निर्णय गरे। आवश्यक पर्दा घरमा पुगेर सेवा दिनेदेखि आफ्नो मोटरसाइकलमा राखेर अस्पताल पुर्याउने काम गरेको थिएँ। चुनावअघि तिनै स्थानीयवासीले मलाई साथ दिए,” महतले सुनाए।
दलको टिकट बाँडफाँट प्रक्रिया अन्यायपूर्ण महसुस भएकै कारण आफूले पार्टी त्याग गरेको बताए। “वडावासीकै रायअनुसार वडाध्यक्षमा उठेँ।” निर्वाचन आयोगले उनलाई चुनाव चिह्न छान्न दिएको थियो। थुप्रै वस्तु र जीवका चित्रहरूमध्ये आफूलाई लौरो आकर्षक लागेको र त्यही रोजेको उनी बताउँछन्।