२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

विदेशमा कमाउँदा हाई हाई, स्वदेश फर्कँदा कोही न कोही…

काठमाडौँ : समय र परिस्थिति अनुसार परदेशमा कमाउनु जानु पर्ने अवस्थाको सृजना हुन्छ । अझ हाम्रो जस्तो देशको लागि त बाध्यता नै भएको छ ।

शासन गर्नेहरू फेरिए पनि देशले मुहार फेर्न सकेको छैन । गरिबी छ । रोजगारी छैन । बेरोजगार भएर कहिलेसम्म बस्ने ? त्यो भन्दा बरु खाडीकै बाटो तताउन बाध्य छन् युवाहरू । देशको आधा अर्थतन्त्र रेमिट्यान्सले धानेको छ ।

परदेशमा कमाएर घर परिवार र देशकै अर्थतन्त्र धान्न परदेशीले सानो सङ्घर्ष गरेका छैनन् । परदेशतिर हानिएकाको अवस्था आफ्नो ठाउँमा हुन्छ । स्वदेशमा रहनेहरूले पनि परदेशीबाट अनेक इच्छा र आकाङ्क्षा राखेका हुन्छन् । आफन्तले परदेशीबाट आस राख्नुलाई नराम्रो पनि हैन ।

हर सम्भव आफ्नाले चाहेको र मागेको कुरा पूरा गर्न चाहन्छन् परदेशी पनि । तर चाहेर पनि सबैका इच्छा पूरा गर्न सम्भव हुँदैन । देश छाडेर परदेश पुग्दा पनि आफ्नो र आफ्नाको चाहना पूरा गर्न नसक्दा मन दुःखी हुन्छ ।

तर मनको पीडा कसलाई सुनाउने, कसलाई भन्ने । परदेशीले आफ्नो मनको पीडा सहजै बताउन पनि सक्दैनन् । एकतिर कामको चाप अर्कोतिर घर परिवारको चिन्ता । सबै कुराको सन्तुलन मिलाउन कठिन हुन्छ र पनि परदेशीहरू आफूलाई सम्हालिइरहेका हुन्छन् । कमाउन भनेर देशै छाडेर परदेश पुगेपछि सम्हालिनुको अर्को विकल्प पनि हुँदैन ।

परदेशीहरूको पर्खाइमा घर आँगनमा आमाबुबा,जीवन सङ्गिनी छोराछोरीहरू हुन्छन् । सबैको माया मनमा राखेर, चिन्तालाई सन्तुष्टिमा बदल्दै बाँच्नु नै परदेशीको जीवन हो । परदेशको अवस्था कस्तो छ, त्यहाँको दुःख के हो, सुख के हो भन्ने त परदेश गएकालाई पो थाहा हुन्छ ।

परदेशमा राम्रो र नराम्रो दुवै पक्ष छन् । कतिपयको अवस्था एकदमै राम्रो पनि छ । कतिको सामान्य छ त कतिपय एकदमै कष्टकर जीवन बिताउन बाध्य छन् । काम र कमाइ राम्रो हुनेलाई परदेशमा त्यति गाह्रो छैन ।

तर सामान्य र तल्लो तहमा काम गर्नेहरूले सोच्दै नसोचेको र कल्पनै नगरेको दुःखहरू सहन पर्छ । पैसा कमाउन पर्ने दबाब हुन्छ । पाएको बिदा पनि काममा नै खर्चन्छन् । तर पनि सोचेजस्तो हुँदैन।

धेरैजसो परदेशी यही पीडामा बाँचिरहेका हुन्छन् । आफ्नो परदेशी जीवन कालमा साथीभाइ, इष्टमित्रदेखि सबैलाई खुसी बनाउने कसरत गरिरहन्छन् । आफ्नो खुसी मारेर घर परिवारको खुसीका लागि डटिरहेका हुन्छन् ।

जब परदेशमा केही वर्ष बिताएर परदेशी आफ्नो देश फर्कन्छ उसले सबैबाट केही न केही अपेक्षा त गरेकै हुन्छ । तर के यो अवस्थामा आफन्त, इष्टमित्र र देशको सरकार परदेशीलाई सहयोग गर्न तयार छ त ? पक्कै पनि छैन । परदेशमा कमाउँदा र जागिर छाडेर घर फर्कँदा गरिने व्यवहारमा आकाश जमिनको फरक छ ।

कुनै पनि श्रमिक परदेशमा टर्मिनेसन भयो अथवा राजीनामा दिएर घर आउने भन्ने बित्तिकै घर तिरको माहौल नै परिवर्तन हुन्छ । कतिपयले त अर्ती उपदेश दिन नै सुरु गर्छन् ।

श्रमिकलाई गर्दै आएको नोकरी छुट्दा अथवा छोड्दा आफ्नै समस्या पनि त हुन सक्छ । परदेशमा सधैँ आफैले सोचेँ जस्तो पनि त हुँदैन । यो अवस्थामा श्रमिकको हौसला बढाउने कि अरू आशा राखेर मनलाई दुःखी बनाउने ?

जसरी श्रमिक मुलुक छोडेर जाँदा पैसा कमाउन गयो भनेर खुसीयाली मनाइन्छ त्यसरी नै फर्कँदा हेर्ने दृष्टिकोण पनि त राम्रो हुन आवश्यक छ । परदेशमा बस्दा थुप्रै स्वदेशका समस्या समाधान गर्यो होला परदेशीले ।

अब स्वदेशमा फर्किन चाहेको परदेशीबाट अरू आशा राखेर कहिलेसम्म सताउने ? उपदेश होइन, सबैको साथ र हौसला पायो भने परदेशमा सिकेको सीप सदुपयोग गरी आफू र देशको लागि केही गर्न सक्थ्यो होला । तर यहाँ उल्टो छ । विदेशमा कमाउँदा हाई हाई, स्वदेश फर्केपछि कोही न कोही भने झैँ हुन्छ ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 28 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार