
बैशाख २७, काठमाण्डाै : नेकपा एमालेकाे तर्फबाट काठमाण्डाै महानगरपालिकाकाे मेयरमा उम्मेदवारी दिनुभएका केशव स्थापितले आफू विजय भएमा योजना भएका मानिसहरूलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताउनुभएकाे छ ।
आज साेमवार न्युज एजेन्सीसँगको कुराकानीमा उहाँले हरेक क्षेत्रमा काम गर्नका लागि भिजन भएकाहरूको आवश्यक पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकोले युवालाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने बताउनुभयो ।
मेयरका उम्मेदवार स्थापितले युवामा पनि महिलाले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै उनीहरूलाई आफ्नो टिममा समावेश गरेर काम गर्ने उल्लेख गर्नुभयाे । उहाँले भिजन भएका युवालाई आफ्नो टिममा आउनका लागि आह्वानसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सबै ज्ञान भएका मान्छे बाहिर हुने र केही थाहा नभएका मान्छे टोलीमा हुनु हुँदैन, त्यसैले मैले युवा इन्जिनियर आउ भनेको छु । स्वास्थ्यको क्षेत्रमा काम गर्ने मानिस आउ, मसँग भएका फोरममा आएर काम गर्ने यो पुस्ता हो ।
हाम्रो पुस्ताले काम लाग्दैन । हामीले वातावरण मिलाउनका लागि केही समय काम गर्ने हो । मलाई धेरै विश्वास भनेको युवामा छ । त्यसमाथि पनि महिलामा धेरै विश्वास छ । उनीहरू आएर आफ्नो खुबी देखाउन् । बराबरीभन्दा धेरै महिलाको सहभागिता चाहेको छु । म कैयौँ कुरा सुधार गर्छु ।’
स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्ने बताउनुभयो । अहिले भइरहेको कलेजको पढाइलाई केही परिवर्तन गरेर त्रिचन्द्रलाई स्तरोन्नति गर्ने उहाँकाे भनाइ छ । कलेज पुनर्निर्माण गर्दा सबै पार्टीको अवधारणाअनुसार मिलेर काम गर्ने पनि उहाँले सुनाउनुभयाे ।
फोहर व्यवस्थापन गर्न नसक्दा काठमाण्डाैकाे सुन्दरता नै खलबलिएको स्थापितले बताउनुभयो । मेयरका उम्मेदवार स्थापितले काठमाण्डाै महानगरपालिकाभित्र रहेका केही सांस्कृतिक सम्पदाहरू लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाको एकै पटक जग हालेर काम सुरु गर्ने बताउनुभयो ।
उहाँले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिसापिसाब गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
न्युज एजेन्सीसँगको कुराकानीमा उहाँले भन्नुभयाे, ‘मैले अहिले मानिसहरूले बिर्सिसकेका ४८ वटा मन्दिर छानेको छु । २०९० सालको भूकम्प गएपछि कसैले विषय नै उठाएको छैन । ती ४८ वटाको जग म एकै पटक हाल्छु । काठमाण्डाैमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरू बनाउँछु । शौचालय नबनाउने अनि पिसाब फेरे कारबाही गर्ने भन्ने हुन्छ ? मोटरसाइकल पार्किङ स्थल नबनाउने अनि पार्किङ गर्याे भनेर समात्ने हुन्छ ? सबै बनाउनुपर्छ नि । म यसबारेमा विभिन्न फोरम बनाएर काम गर्छु ।’
स्थापितले अहिले पनि दुई सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पत्ति पर्खाल लगाएर राखेकाले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताउनुभयो । उहाँले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गर्नुभयो । काम गर्न सरकारीतर्फबाट व्यवधान आए अदालतबाट न्याय खोजेर भए पनि काम गर्ने उहाँको प्रतिबद्धता छ ।
मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘म प्रमाणित मान्छे हो । म पहिला काम गरेर देखाउँछु अनि सबैले भन्नेछन् यसले काम गर्छ भनेर । मैले मण्डला बनाएँ । राति चिसो केही नभनिकन आफैँ उभिएर बनाएको हो । म काठमाण्डाैलाई बनाउन सक्छु । मसँग त्यो कला छ ।’
स्थापितले आफ्नाे विज्ञ टिमले महानगरले ४८ अर्ब रुपैयाँ राजस्व उठाउन बाँकी रहेकाे पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको दाबी गर्नुभयाे । भूकम्प र कोरोनाकालमा समेत विकासका कामहरू भएकोप्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।
केशव स्थापित धेरैजसाे महानगरवासीले सुनेको नाम हो । अज काठमाण्डाै महानगरवासीका लागि त स्थापित मेयर साबबाट परिचित हुनुहुन्छ । उहाँ यसअघि दुई पटक काठमाण्डाैको मेयर हुनुभएकाे थियाे । खेलकुद परिषद्को सदस्य सचिव, उपत्यका विकास प्राधिकरण प्रमुख, बाग्मती प्रदेशका लागि भौतिक
योजना तथा विकास मन्त्रीसमेत बनिसक्नुभएका स्थापितले मेयरमा रहँदा भने महानगरवासीका लागि सम्झन लायक केही काम गर्नुभएकाे थियाे । स्थापितको पालामा काठमाण्डाै महानगरमा धेरै काम भएको र उहाँले नै काठमाण्डाैमा आकाशे पुल, सडक फराकिलो बनाउने कामको सुरु गरेको एमालेका नेताहरूको दाबी छ ।