२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

इपिएस रोजगारी – नेपालले पाउने कोटा बढाउन प्रस्ताव !

चैत ३०, काठमाडौं : रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालले पाउने कोटा बढाउन सरकारले प्रस्ताव गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग मंगलवार भएको शिष्टाचार भेटमा सो प्रस्ताव राखेका हुन् ।

जवाफमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताएका छन् । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।

सन् २००८ मा ८१ महिलासहित २ हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएकोमा हालसम्म कोरियामा ६५ हजारभन्दा बढी नेपाली ईपीएसअन्तर्गत प्रत्यक्ष रोजगारीमा छन् ।

मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकाले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका थिए । ईपीएसअन्तर्गत १६ देशबाट रोजगारीका लागि कोरियामा जाने गर्छन् ।

सन् २०१८ मा ईपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका २ हजार नेपाली रोस्टरमा रहने म्याद सकिएकाले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गरे ।

सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको ईपीएस सम्बन्धी द्विपक्षीय समझदारी पछिल्लोपटक सन् २०१८ मा नवीकरण भएको थियो । त्यसपछि २०२० यता नवीकरणको प्रक्रियामा छ ।

मन्त्री श्रेष्ठले यसलाई छिट्टै टुंगोमा पुर्‍याउन राजदूत पार्कसँग आग्रह गरेका छन् । राजदूत पार्कले ईपीएस सम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताएका छन् । -आर्थिक अभियान दैनिक बाट

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार