२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

धरानमा मेयरको उम्मेदवारीमा एमालेबाट ११ जनाको नाम सिफारिस !

चैत २८, धरान : धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ ।आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकांक्षा राखेका नेताहरुले दावी नछोडेपछि सबैको नाम सिफारिस गरेको नगर कमिटीले जनाएको छ ।

एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरेको हो । अब उम्मेदवारको अन्तिम टुङ्गो पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ । नगर कमिटीको बैठकले मेयरका लागि पहिलो नम्बरमा उपमेयर मञ्जु भण्डारीको नाम सिफारिस गरेको छ ।
बैठकले पूर्वमेयर मनोज मेन्याङ्बो, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्केको नाम सिफारिस गरेको हो ।

त्यस्तै उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ ।धरानमा नेकपा एमालेको ‘दश बुँदे पक्षधर’को पकड रहेको क्षेत्र हो ।

२०७४ सालमा मेयरमा निर्वाचित तारा सुब्बाको निधनपछि तत्कालिन नेकपाले नेता माधव नेपाल पक्षका नेता प्रकाश राईलाई उम्मेदवार बनाएको थियो । उनी काङ्ग्रेस उम्मेदवार तिलक राईसँग पराजित भएका थिए ।धरानको मेयरका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छैन ।

काङ्ग्रेसबाट मेयर तिलक राई, पूर्व नगर उपसभापति किशोर राई, प्रदेश १ महामन्त्री उमेश थापा लगायत दाबेदार छन् । माओवादी केन्द्रबाट अइन्द्रबिक्रम बेघा, किरण राई मेयरको दाबेदार छन् ।कांग्रेस र माओवादी केन्द्र, नेकपा एस, जसपासहितको सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 0 Minutes 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार