२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

२२ औं पटक लोकसेवाको परीक्षा दिएर अधिकृत बनेका कञ्चनराजले दिए राजीनामा, भन्छन्- मेयर उठ्छु !

काठमाडौ : २२ औं पटक लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरीले राजीनामा दिएका छन्। गत कात्तिकमा अधिकृत बनेका गिरी कालीगण्डकी ए जलविद्युत आयोजनामा प्रशासन प्रमुखको

रूपमा काम गरिरहेका थिए। सरकारी जागिर खाएको ६ महिनामै गिरीले बिहीबार राजीनामा दिएका हुन्। आयोजना प्रमुखलाई गिरीले बुझाएको राजीनामा स्वीकृत हुन भने बाँकी छ। प्राधिकरणको अधिकृत बनेपछि गत कात्तिकमै गिरीले

सेतोपाटीमा ‘२१ पटक लोक सेवा अधिकृत परीक्षा फेल हुँदा…’ शीर्षकमा ब्लग लेखेका थिए। ब्लगमा उनले अधिकृत बन्न आफूले गरेका संघर्षको र त्यसले जिन्दगीप्रतिको बुझाइमा ल्याएको परिवर्तनबारे उल्लेख गरेका थिए। सरकारी अधिकृत बन्न उनको लगन र धैर्यताको धेरैले प्रशंसा गरेका थिए।

सामाजिक सञ्जालमा उनी भाइरल भएका थिए।वर्षौं देखि मेहनत गरेर खाएको जागिर गिरीले ६ महिनामै छोड्ने निर्णय गरेका छन्।

किन?‘अब म आउने स्थानीय चुनावमा बनेपाको मेयर उठ्छु,’ गिरीले भने। ३५ वर्षीय गिरीले वैशाख ३० गते हुने स्थानीय चुनावमा काभ्रेको बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने योजना बनाइसकेका छन्। त्यसका पछाडि पनि कारण रहेको उनले बताए।

पहिला-पहिला उनलाई सरकारी कर्मचारीले पनि परिवर्तनका लागि धेरै भूमिका खेल्न सक्छ भन्ने लाग्थ्यो। बनेपाका वासिन्दा गिरीले विज्ञान पढेका थिए। जर्मनीमा प्रि-पिएचडी ट्रेनिङका लागि गएका थिए। तर पिएचडीका लागि छनोट हुन सकेनन्। जर्मनीको विश्वस्तरीय न्युरोसाइन्स ल्याबमा रहँदा उनलाई कहिल्यै त्यो काम गर्ने उत्साह र ऊर्जा प्राप्त भएन।

विज्ञानको लागि आफू नजन्मेको आभास गरे। जर्मनीको निराश बसाइपछि नेपाल फर्के।यो २०६८ सालतिरको कुरा हो। नेपाल आएपछि उनी बेरोजगार भए। उनलाई देशको अवस्थाको कारण आफू बेरोजगार भएको भन्ने लाग्यो। बेरोजगारीको अवस्था अन्त्यको लागि देश नै बदलिनुपर्छ भन्ने सोच पनि पलायो।

अवस्था परिवर्तन गर्न सानो सुरूवात आफैंबाट गर्नुपर्छ भन्ने सोचले उनी लोकसेवा भिड्न थाले।‘त्यतिबेला मलाई स्थानीय निकायमा कर्मचारीले पनि धेरै फरक पार्न सक्छन् लाग्थ्यो,’ गिरीले भने।उनको लोकसेवा यात्रा फलामको च्युरा चपाउनुसरह भयो। एक-दुई पटक असफल भएपछि उनले करारको काम सुरू गरे र लोकसेवाको तयारी जारी राखे।

करारमा जागिर खाँदा पनि उनले देशको शासन र प्रशासन नजिकबाट बुझ्ने मौका पाए। गुठी संस्थानदेखि काठमाडौं महानगरपालिकाका परीक्षामा असफल भएका गिरी २२ औं पटकमा प्राधिकरणको अधिकृत बनेर कालीगण्डकी गए। तर सरकारी जागिरको दुनियाँ उनले सोचेजस्तो थिएन।

‘कुलमान घिसिङको नेतृत्वमा भएको नेपाल विद्युत प्राधिकरण नेपालको सबैभन्दा व्यवस्थित संस्थान भए पनि अन्य सरकारी निकायमा जस्तै यहाँ पनि कैयौं संस्थागत बेथिति छन्,’ गिरीले भने,‘त्यस्ता बेथितिहरूलाई सुधार्न मजस्ता सातौं तहका प्रशासन प्रमुखले केही गर्न नसक्ने रहेछन्।’

सरकारी कर्मचारी बनेर भन्दा नगरको कार्यकारी प्रमुख बनेर समाज सुधार्न सकिन्छ भन्ने लागेपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।‘कार्यकारी पदमा पुगें भने कम्तीमा एउटा गाउँ/नगर त म बनाउन सक्छु’ उनले भने,‘हामी सधैं विकल्प चाहियो भन्छौं तर आफैं विकल्प बन्न कोशिश गर्दैनौं। त्यसैले म आफैं विकल्प बन्न होमिएको छु।’

गिरी अधिकृतमा २२ औं प्रयासमा सफल भएका थिए।
हामीले उनलाई सोध्यौं, चुनावमा पनि तपाईंको त्यस्तै नियति दोहोरियो भने के गर्नुहुन्छ?‘मलाई त म जित्छु भन्ने नै छ। जनताको सेवा गर्ने बाल्यकालदेखिको मेरो लक्ष्य पूरा गर्ने यो मौका हो,’ गिरीले भने,‘हारें भने पनि केही फरक पर्ने छैन। अहिले उम्मेदवारी दिएँ भने जिन्दगीमा पछि फर्केर हेर्दा कम्तीमा आफैंलाई आत्मग्लानी हुनेछैन।’सेतोपाटी

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार