
चैत २२, काठमान्डौ : तीन वर्षअघि यतिबेला सर्लाहीको बागमती नगरपालिका–१२ बुढीबागमती किनार सुख्खा थियो। चैतको खडेरीले बागमती नदीमा पानीको बहाव घटेको थियो।
त्यति नै बेला बागमती ४ र १२ को सीमा क्षेत्रमा पर्ने बागमती किनारको बगर (नदी उकास पर्ती जमिन) डोजरले खोस्रिन थाल्यो। ०१८ साल अघिसम्म बागमती नदी बगिरहेको त्यो बगरको महत्वप्रति कसैको ध्यान गएको थिएन।
सबैले ‘बिनाकामको ढड्यान’ मान्दै आएको त्यो बगरमा डोजर चल्न थालेपछि वरपरका मान्छेले मेयर भरत थापालाई सोधे, ‘यहाँ के गर्न लागेको?’ धेरै नबोल्ने मेयर थापाले जवाफ दिए– ‘यहाँ ताल निर्माणको थालनी हुँदैछ।’ मेयरको जवाफलाई कतिले पत्याए, कतिले एक कानले सुनेर अर्को कानले उडाए।
केही समयपछि कोरोना महामारी सुरु भयो। संक्रमण नियन्त्रणको लागि भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो। को’रोना त्रासले मान्छेहरु घरभित्रै थुनिए। जनजीवन ठप्प भयो। मेयर भरत थापा भने लकडाउनले थुनिएनन्। उनले अठोट गरिसकेका थिए, ‘सबैले हेला गर्ने यो सुख्खा बगरमा सुन्दर ताल निर्माण गरेरै छाड्छु।’
त्यसपछि बागमतीको बगरमा निरन्तर दर्जनौँ डोजर चले। दैनिक सयौँ मजदुर काममा खटिए। डोजरले खाडलबाट गिटी, बालुवा र माटो निकालिरहे। साता बित्यो, महिना बित्यो, वर्ष बित्यो। विशाल खाडल तयार भयो, पानीबिनाको।
तीन वर्षअघिको त्यही बागमतीको सुख्खा बगर यतिबेला रमणीय तालमा परिणत भएको छ। चुरेको काखमा अवस्थित बागमती किनारको सुख्खा बगरमा आकर्षक ताल निर्माण भएको खबर आसपासमा फैलिँदै गयो।
‘ताल कस्तो रैछ?’ भन्दै मान्छेहरु टाढाटाढाबाटसमेत हेर्न आउन थाले। ताल आसपासको क्षेत्रमा आगन्तुकलाई चिया, खाजा खाने कुनै होटल, पसल थिएनन्। व्यापार चल्ने आसमा स्थानीय भरत विश्वकर्माले ताल किनारमा टिनको छाप्रो ठड्याए। चिया, खाजा बेच्न थाले। छाप्रोअघि बोर्ड झुन्ड्याए।
ठेगानामा उनले लेखे– ‘बागमती नगरपालिका १२, भरत ताल’।त्यसपछि आउने–जानेले यो ताललाई ‘भरत ताल’को रुपमा चिन्न थालेका हुन्। होटल सञ्चालक बिकले बोर्ड झुन्ड्याएपछि एक कान, दुई कान हुँदै ‘भरत ताल’ कै नामले यो ताल प्रख्यात हुँदै गएको हो।
राष्ट्रिय मिडियामा समाचार आउन थालेपछि भने धेरैले चासो दिन थाले। कतिपयले मेयर थापाको नामबाट तालको नामाकरण ‘भरत ताल’ भनेर गरिएको भन्दै आलोचना पनि गर्ने गरेका छन्। तर, मेयर थापा त्यसलाई अस्वीकार गर्छन्। ‘हामीले त माछा पोखरी भनेर निर्माण थालेका थियौँ, स्थानीयले नै यसको नाम भरत ताल राखिदिएका हुन्,’ माओवादी केन्द्रबाट मेयरमा निर्वाचित थापाले भने।
एक सय २१ विघा क्षेत्रफलमा फैलिएको ‘भरत ताल’ अहिले मधेश प्रदेशकै सानको रुपमा चिनिन थालेको छ। तालमा बोटिङ सुरु भएको गत असारदेखि नै हो। आजभोलि दैनिक हजारौँ मानिस तालमा बोटिङको लागि पुग्छन्। साँझ–बिहान ताल किनारमा तस्बिर खिच्ने, टिकटक बनाउने युवायुवतीको घुइँचो लाग्छ।
भरत तालमा यतिबेला दुई दर्जनभन्दा धेरै डुंगा (मिनी क्रुज) सञ्चालनमा छन्। जसमा नेपालको झण्डा फहराएको छ। डिजेल इन्जिनका धेरै मिनी क्रुज १० सिटे छन्। केही २० सिटे छन् भने एउटा एक सय ३५ सिटे पानीजहाज पनि सञ्चालनमा छ।ती डुंगा चढेर तालमा १० मिनेट सयर गरेवापत् प्रतिव्यक्ति दुई सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ।
चाड पर्व र बिदाको दिन तालमा आगन्तुकको भिड अझ धेरै हुन्छ। आगन्तुकबाट नगरपालिकाले दैनिक लाखौँ रुपैयाँ राजश्व संकलन गर्न थालेको छ। २० प्रतिशत कर लिएर नगरपालिकाले व्यवसायीलाई तालमा डुंगा सञ्चालन गर्न दिएको छ। ताल वरपर सयौँ होटल र घुम्ती पसल खुलेका छन्।
सयौँ मजदुर अहिले पनि तालको सौन्दर्य बढाउने काममा खटिएका छन्। ‘ताल क्षेत्र व्यवस्थित भइसकेको छैन,’ मेयर थापा भन्छन्, ‘निर्माणको काम पुरा भएपछि झण्डै एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।’ ताल निर्माणमा अहिलेसम्म करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ।
राष्ट्रिय योजना आयोगदेखि मधेश प्रदेश सरकारले पनि ताल निर्माणमा सहयोग गरेका छन्। बागमती नगरपालिकाले आफ्नो धेरै बजेट ताल निर्माणमा लगाइसकेको छ। ‘तालको सौन्दर्यकरणको काम सकिँदा झण्डै ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ,’ मेयर थापाले भने।
एक सय २१ विघा क्षेत्रफलमा फैलिएको तालमा बागमती नदीबाट निरन्तर पानी प्रवाह भइरहेको छ। तालमा दुई खण्ड छन्। यतिबेला दक्षिणतर्फको खण्डमा मर्मतको काम भइरहेको छ। उत्तरतर्फको खण्ड भने सञ्चालनमा छ।‘दक्षिण तर्फको खण्डमा पानी नअडिएको कारण मर्मतको काम भइरहेको छ,’ मेयर थापाले भने, ‘मर्मतको काम सकेपछि दुवै ताल सञ्चालनमा आउँछन्।’
तालमा पानीको गहिराई १० देखि ३० फिटसम्म छ। ‘बागमती नदीमा ठूलो बाढी आउँदा पनि तालमा असर नपर्ने गरी संरचना निर्माण गरेका छौँ,’ मेयर थापाले भने, ‘सुरक्षाका उपायहरु अवलम्बन गरिएको कारण तालबाट वरपरका बस्तीमा कुनै समस्या हुँदैन।’
ताल आसपासका क्षेत्रमा होटल, पिकनिक स्पट निर्माण हुँदैछ।‘हाम्रो आवश्यकताले यो तालको निर्माण गरेका हौँ,’ थापा भन्छन्, ‘अब यो ताल नगरको दिगो आर्थिक स्रोतको रुपमा रहने छ।’जनार्दन पोखरेल/नेपाल खबर