२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

म्यादी प्रहरीको छनोट – कसैलाई दौडन गाह्रो, कसैलाई उफ्रन !

चैत १९, काठमाण्डाै : गोदावरीका सुमन सिलवाल ललितपुरकाे जाउलाखेल फुटबल मैदानको बारमा बसेर साथीलाई यसो गर् र उसो गर् भनिरहनु भएको छ ।

उहाँ आफूले पनि म्यादी प्रहरीका लागि फारम भर्नुभएको छ । अघिल्लो दिन उहाँको शारीरिक परीक्षा यसै मैदानमा भएको थियो । आफ्नो अनुभव यसो साथीलाई काम लागोस् भनेर आएको’ सिलवाल भन्नुहुन्छ, ‘अरु भन्दा पनि सीटअप

धेरै गाह्रो छ, साथीले सक्दैन कि भनेर यसो सिकाउँदैछु ।’
म्यादीका लागि दश सीटअप, बीस पुसअप र पाँच मिनेटभित्र फुटबल मैदान तीन पटक दौड पूरा गर्नुपर्ने हुन्छ । सिलवालले तोकिएका सबै जाँच पास गरे पनि धेरै मान्छे भएका कारण उहाँ आशावादी देखिनु भएन ।

‘एकलाख मागेकोमा तीनलाख छन् फारम भर्ने त्यसमाथि आफ्ना मान्छे हाल्दा हाम्रो पालो आउन गाह्रो छ’, सिलवालको आत्मविश्वास धरमराएको छ ।

जाँच सकाएर एक छिनमा सिलवालको साथी विनोद केसी बाहिर आउनुभयो । भर्खरै दौड सकाएर आएकोले उहाँ थकित देखिनुहुन्थ्यो । ‘खासै गाह्रो जाँच त होइन अब धेरै समय भयो एक्सरसाइज छैन बस्यो खायो गर्दा अलि गाह्रो भाको हो’ केसी भन्नुहुन्छ, ‘सीटअप चाहिँ सात पटक मात्र गर्न सकियो । अरु त सबै गरियो ।’

लाइनमा उभिरहनुभएकी अन्जु राईको पालो आयो । हात फैलाउने अनि दायाँ बायाँ गरेपछि उहाँ उचाइ नाप्ने ठाउँमा पुग्नुभयो । उहाँको उचाइ चार फीट दश इन्च मात्र भयो । दुई इन्च पुगेन । प्रहरीले उहाँलाई उचाइ नपुगेपछि बाहिर जान भन्दै थिए । उहाँ भने भित्र बसेर कसैलाई फोन गरिरहनु भएको थियो ।

‘पहिलो त हाइट पुग्छ भनेर आएको खोइ अहिले नाप्दा त पुगेन । एकजना सरले भन्दिन्छु भनेर फोन गरेको । फोन उठेन’ राइ भन्नुहुन्छ, ‘नभए पनि ठीकै छ । अरु काम गरौँला तर, कोसिस गर्न किन छोड्नु भनेर हो ।’

४९ वर्षीय सोम भुजेल पनि उचाइ नपुगेर फालिनुभयो । ललितपुरको ढोलाहिटीबाट आउनु भएका भुजेलको पनि फालिएकोमा कुनै गुनासो छैन । ‘अरु काम गरौँला । यो भनेको त एक महिनाको न हो’ भुजेल भन्नुहुन्छ, ‘कोसिस गरेको हो । भएको भए एक महिनामा तीस हजार आउँथ्यो । भएन ठीकै छ ।’

अहिले ललितपुरको जाउलाखेलसहित सबै जिल्लामा म्यादी प्रहरीको छनोट प्रक्रिया चलिरहेको छ । अन्तिम नतिजा २२ गते प्रकाशित हुनेछ । छनोट भएकाहरूको प्रशिक्षण चैत २८ चैतदेखि सुरु हुनेछ । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ ।

आधारभूत तलब प्रहरी जवान सरह महिनाको २२ हजार ६ सय ८० रुपैयाँले ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ हुनेछ । यसैगरी खाद्यान्नबापत एकमुष्ठ ७ हजार २ सय रुपैयाँ तथा पोसाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्थानीय तह चुनावका लागि एक लाख म्यादी प्रहरी मागिएकोमा झन्डै तीन गुणा बढी आवेदन परेको छ । दुई लाख ९३ हजारभन्दा बढीले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसमध्ये ५९ हजार महिला छन् । सबैभन्दा धेरै आवेदन मधेस र लुम्बिनी प्रदेशमा परेको छ ।
-उज्यालो

२०७८ चैत्र १९, शनिबार प्रकाशित 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।