
काठमाडौं : स्थानीय निर्वाचन नजिकिँदै आउँदा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर चर्चामा आएकी छन्। उनले देशको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी र अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाका कारण एमालेमा
भित्रिएको प्रतिक्रिया दिएकी छन्। डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको तत्कालीन नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएपछि राजनीतिमा निष्क्रिय रहेकी उनले नयाँ गन्तव्यका लागि एमालेमा आवद्ध भएको बताएकी छन्।
‘एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै हुनुहुन्छ,’ उनले भनेकी थिइन्, ‘६ महिनाको अन्तरालमा मैले उहाँलाई दुईपटक भेटें र उहाँको इनर्जी देखेर मलाई ताजुबै लाग्यो। परिवर्तन र समृद्धिको एजेन्डा बोक्ने पार्टी हो भन्ने लागेर यसमा आएकी हुँ।’
२०७३ सालमा तत्कालीन एकीकृत माओवादीबाट अगल भएर भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा अभिनेत्री मानन्धरसँग सरोज खनाल र अशोक शर्मासमेत प्रवेश गरेका थिए।
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नयाँ शक्ति पार्टीले समानुपातिकबाट अभिनेत्री मानन्धरलाई उम्मेदवारको पहिलो नम्बर सूचीमा राखे पनि उनको सांसद बन्ने धोको भने अपुरै रहेको थियो।
तत्कालीन एकीकृत माओवादीबाट युटर्न गर्दै २०७३ सालदेखि अभिनेत्री रेखा थापा संघीयता खारेजी, हिन्दु धर्म र राजतन्त्र पुनःस्थापनाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध छिन्।
राप्रपाको पछिल्लो महाधिवेशनमा उनी महामन्त्रीमा पदमा पराजित भएकी थिइन्।२०६९ सालमा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले उनलाई पार्टीमा प्रवेश गराएका थिए।
माओवादीको सिंहदरबार घेराउ कार्यक्रममा दाहालसँग स्टेजमा ‘लालुपाते नुँग्यो भुइँतिर’ गीतमा नाचेको घटनापछि दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारका लागि पर्सा–१ मा टिकट पाएको चर्चा चलेको थियो। तर मतदाता नामावलीमा नाम छुटेकै कारण उनले सभासद् बन्न सक्ने अवसर चुकाइन्।
एमाले केन्द्रीय सदस्यसमेत रहेकी गायिका कोमल वलीले केही दिनअघि राष्ट्रियसभाको सांसद पदबाट अवकाश पाएकी छन्। २०७३ सालमा रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी वली एक वर्ष नबित्दै एमालेमा प्रवेश गरेकी थिइन्।
एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट टिकट दिने प्रतिबद्धता व्यक्त गरे पनि पार्टीले अर्कैलाई उम्मेदवार बनाएको थियो।
त्यसपछि एमाले कोटामा लुम्बिनी प्रदेशबाट उनी राष्ट्रियसभा सदस्य भएकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनमा अभिनेता भुवन केसीले काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट टिकट पाउन दौडधुप गरे पनि पार्टीले सो क्षेत्रबाट विदुर मैनालीलाई टिकट दिएको थियो।
राजनीतिक दलले निर्वाचन नजिकिँदै गर्दा भिड र मतदाता जुटाउन कलाकारलाई टिकट दिने आश्वासनसहित पार्टी प्रवेश गराउने प्रवृत्ति नेपाली राजनीतिमा हाबी हुँदै गएको छ। पार्टी प्रचारप्रसारमा प्रयोग भइरहेका कलाकारहरू पार्टीका गहनाका रूपमा मात्र सीमित भइरहेका छन्। -नागरिकदैनिक