
जेठ २१, काठमाडौ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो २ सातायता कुवेतमा सीधा हवाई उडान गर्दै आएको जजिरा एयरवेजले व्यावसायिक रूपमा आफ्नो सेवा
उत्साहजनक रहेको बताएको छ । ‘व्यावसायिक दृष्टिले हामी निकै सन्तुष्ट छौं, जजिरा एयरवेजका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले कान्तिपुरसँग भने,यो रूटको उडान सोचेभन्दा राम्रो ढंगले अघि बढेको छ ।
यसले हामीलाई उत्साहित बनाएको छ । गत जेठ २ देखि जजिराले सातामा ३ दिन कुवेत–भैरहवाबीच सिधा उडान गर्दै आएको छ । जजिराको ‘एयर बस ३२० निओ’ विमानले सोमबार, बुधबार र शुक्रबार उडान सेवा दिन्छ ।
बुधबारसम्म जजिराले ७ वटा उडान गरिसकेको छ । सेवा थालेदेखि नै भैरहवा–कुवेत रुटमा यात्रुको कमी नरहेको नागरथले बताए ।
कुवेतका लागि काठमाडौंबाट श्रम स्वीकृति लिएका धेरै नेपाली श्रमिक भैरहवा पायक पर्ने भएकाले काठमाडौंको सट्टा यहींबाट उडिरहेका छन्,’ उनले भने, काठमाडौं–कुवेत रुटको हवाई भाडाभन्दा भैरहवा–कुवेतको भाडासमेत सस्तो छ ।’
उनका अनुसार जजिरा एयरवेजबाट काठमाडौं हुँदै कुवेत जानुभन्दा भैरहवा हुँदै गए प्रतियात्रु ८ हजार रुपैयाँले सस्तो पर्छ । भैरहवामा हवाई उडान सञ्चालन गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाएको विशेष सहुलियत हामीले यात्रुलाई प्रदान गरेका छौं ।
उनले भने, यही कारण पनि यो रुटको भाडा सस्तो भएको हो । यही गतिमा यात्रुको चाप बढेमा जजिराले उडान संख्या थप्न सक्ने उनको भनाइ छ । विमानस्थलका निमित्त महाप्रबन्धक एवं प्रवक्ता श्यामकिशोर साहका अनुसार अहिलेसम्म १५ सयभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय उडानतर्फ विमानस्थलको प्रयोग गरिसकेका छन् ।
यो नेपाल आउने–जाने दुवैतर्फका यात्रुको संख्या हो । उनले भने । सरकारले गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूलाई आकर्षण गर्न विभिन्न शुल्कमा सहुलियत र पूर्ण छुटसमेत दिएको छ ।
विमानस्थल प्रवक्ता साहले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अवतरण, पार्किङ, सुरक्षा र सञ्चार गरी ४ शीर्षकको शुल्क एक वर्षका लागि शतप्रतिशत छुट दिइएको बताए । जजिराले अहिले एकपटकको उडानबापत विमानस्थललाई बुझाउनुपर्ने २ लाख २५ हजार रुपैयाँ छुट पाइरहेको छ । यो समाचार माधव ढुंगानाले कान्तिपुरमा लेख्नु भएको छ ।