
कात्तिक ६, भैरहवा : करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश बिन्दुका लागि भारतसँग आग्रह गरिएको भए पनि अझै भारतले सहमति दिएको छैन ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालनमा आउन लागेको पोखरा
अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु ९लिमा ६२६० नै उपयुक्त हुने हवाईविज्ञले बताएका छन् ।
अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा (गल्फ ५९८) प्रवेश बिन्दु प्रयोग गरिरहेका छन् । यो प्रवेश बिन्दुबाट काठमाडौँ र प्रस्तावित निजगढ विमानस्थललाई पनि उपयुक्त हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भने सिमरा प्रवेश बिन्दु त्यति उपयुक्त मानिँदैन ।
महेन्द्रनगर प्रवेश बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज हुने विमानस्थलमा महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनुभयो ।
हवाई प्रवेश बिन्दुमध्ये महेन्द्रनगर नै उपयुक्त हुने उड्डयनविज्ञ एवं पूर्ववरिष्ठ पाइलट किरणविक्रम क्षेत्रीले बताउनुभयो । महेन्द्रनगर प्रवेश बिन्दु भएमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सहयोग हुने विश्वास लिइएको छ ।
सिमरा प्रवेश बिन्दुको तुलनामा महेन्द्रनगरबाट जहाज आउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २० मिनेटको अन्तर हुन्छ । दिल्लीबाट महेन्द्रनगर प्रवेश बिन्दु हुँदै भैरहवा आउन छोटो दूरी पर्छ ।
हाल भारतले भैरहवाको प्रवेश बिन्दुबाट अन्तर्राष्ट्रिय उडान गर्न वायुसेवा कम्पनीलाई बाहिर जान मात्रै दिएको छ । -यो खबर आजको गोरखापत्र दैनिकमा छ ।