२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

कृष्णभक्त पोखरेल भन्नुहुन्छ – रवि लामिछानेलाई म प्रतिस्पर्धी ठान्दिनँ ।

असोज २४, काठमाडौं : नेकपा एमालेका कृष्णभक्त पोखरेलले चितवन २ मा आफ्नो विजय सुनिश्चित भएको बताएका छन् ।
‘२०७४ मा मैले १७ हजारको मतान्तरले जितेको हुँ । स्थानीय तहमा पनि गठबन्धनभन्दा हाम्रो मत बढी छ ।

म यहाँका जनताको दैनिक दिनचर्यासँग जोडिएको छु । सांसदका रुपमा १७६ वटा कानुन मेरो नेतृत्वमा निर्माण भएको छ । मेरो जितमा कुनै शंका छैन, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।

उनले आफ्नो क्षेत्रमा राप्रपासँग गठबन्धन हुने सम्भावना कम रहेको पनि औंल्याए । गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले चितवन २ का वडा पनि नचिनेको आरोप पोखरेलको छ । उनले थपे, व्यक्तिगत रुपमा उमेश श्रेष्ठ मेरा असल मित्र हुनुहुन्छ । उहाँका बारेमा व्यक्तिगत टिकाटिप्पणी छैनन् ।

तर उहाँ ढुक्कले एक हप्ता पनि यहाँ बस्नुभएको छैन । वडा चिन्नुभएको छैन । कांग्रेसलाई आफ्नो जनमतमा विश्वास नभएर चितवनका ९ क्षेत्रमध्ये ५ वटामा मात्र उम्मेदवारी दिएको जगजाहेर छ ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई प्रतिस्पर्धी नठानेको पनि बताए । पोखरेलले थपे, ‘लोकतन्त्रका बगैंचामा अनेक फूल फुल्छन् । रवि लामिछानेजीको उम्मेदवारीलाई मैले सामान्य रुपमा र्लिएको छु ।

म उहाँलाई प्रतिस्पर्धी नै ठान्दिनँ । रविजी जनताका दुःखसुखमा भिज्नुभएको छैन । त्यसैले उहाँको पक्षमा जनमत तयार हुने सम्भावना देख्दिनँ । तयार भएछ भने मैले अन्यथा लिने कुरा पनि भएन ।

आफ्नो कार्यकालमा विद्युत्, सडक लगायतका विकास निर्माणको काम भएको पनि उनले औंल्याए । पोखरेलले भने, सांसदको मुख्य काम विधि निर्माण गर्ने र त्यसको कार्यान्वयन भयो कि भएन भनेर हेर्ने हो । मैले विद्युत्, सडक आदिको विकासका काम थुप्रै गरेको छु ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।