
असोज ६,काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ ।
महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज बिहीवार दिउँसो डोजर चलाएको हो । अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि
नहटाएकाेले डोजर चलाउनुपरेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ ।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो ।
तर सूचनाको बेवास्ता गरेर नहटाएकाले डोजर लगाएर खाली गर्न सुरु गरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो । काठमाण्डौ महानगरपालिकाले गएकाे भदौ ६ गतेदेखि सडक मिचेर बनेका संरचना र पसललगायतका संरचना हटाउँदै आएको छ ।