
साउन २८, धरान : धरानमा सर्दु खोलाको पानीले विजुली उत्पादन भएको छ। करिब १० दिनको समय लगाएर श्रमदानमार्फत धरानमा पहिलो पटक विजुली उत्पादन गरिएको हो।
श्रमदानबाहेक यो काममा मात्र साँढे ३ लाख खर्च भएको प्रोजेक्ट मेनेजर तर्कराज मगरले जानकारी दिए। विजुली उत्पादन भएपछि बिहिबार दिउँसो मेयर हर्कराज राई (साम्पाङ) ले रिबन काटेर साथै स्वीच अन गरी बल्भ बालेर प्रोटोटाइप
हाइड्रोको उद्घाटन गरेका थिए। मेयर साम्पाङले अहिले धरानमा पनि विजुली उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण मात्र दिएको र भविष्यमा बाँनियाटारमा ठूलो पोखरी बनाएर ठूलो मात्रामा विजुली उत्पादन गर्ने बताए।
बुधबारको कार्यपालिका बैठकले बाँनियाटारमा जलकुण्ड बनाउन सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिसकेको पनि उनले बताए। यो सानो उदाहरण मात्र हो।
अब भविष्यमा बाँनियाटारमा ठुलो पोखरी बनाएर पानी यसरी नै झाछौं, र ठुलो मात्रामा विजुली उत्पादन गछौं,मेयर साम्पाङले भने,धरानभरि बिजुली बाल्ने गरि उत्पादन गछौं।
मेयर साम्पाङले आफ्नो सपना साकार बनाउन श्रमदान गर्ने सबैप्रति आभार पनि प्रकट गरे। बुधबारकै कार्यपालिका बैठकले साबुन फैक्ट्री बनाउने निर्णय पनि पारित गरिसकेको भन्दै उनले भने,‘नपत्याउनेले नपत्याउदै गरुन्, माया धराने ब्राण्डको लुगाधुने साबुन बनाउछौं।
उद्योगमा रोजगारी पनि दिन्छौं, आम्दानी नगरपालिकाकै हुन्छ।’
प्रोटोटाइप हाइड्रोका प्रोजेक्ट मेनेजर मगरका अनुसार टर्वाइन ७५० वाटको भएपनि अहिले ३०० वाट मात्र उत्पादन भएको छ। टर्वाइनको क्षमता अनुसार ७५० वाट नै विजुली उत्पादन गर्न ७० मिटर हेड आवश्यक पर्छ।
तर, अहिलेको प्रोटोटाइपको हेड ३१ मिटर मात्र भएकोले ३०० वाट विजुली उत्पादन भएको पनि मगरले जानकारी दिए। यो विजुलीले १५ देखि २० वटा एलइडी बल्ब बाल्न सक्छौं।
खानेपानीको चौकीदार बस्ने घर र वीपी पार्क, ओशो पार्कमा बल्ब बाल्नेछौं, मगरले भने,विजुलीको पोल पनि विस्तार भइरहेको छ। यो प्रोजेक्टको निर्माणको चरणमा धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका चौथो बर्षका
विद्यार्थीहरुले सर्वेमा संलग्न भएका थिए भने सिभिल तेस्रो बर्षका विद्यार्थीहरु फिल्ड भिजिटमा पनि आएका थिए। विद्यार्थीहरुको लागि प्राक्टिकल ज्ञान पाउने उपयुक्त थलो भएको सिभिलका विभागीय प्रमुख प्रभात देवको भनाई छ।
यो प्रोजेक्टको लागि जेनेरेटर, भोल्ट मिटर, टवाईन लगायत सामाग्री सेट इटहरीको सिंहवाहिनी इञ्जिनियरीङ प्रालिले निःशुल्क उपलब्ध गराएको पनि मगरले जानकारी दिए। यो सेटको मुल्य ५० हजार बराबर हुने पनि उनले बताए।
प्रोटोटाइपको लागि उक्त प्रालिको प्रबन्ध निर्देशक टंकप्रसाद तिम्सिना, उत्पादन निरीक्षक गोपाल खड्का, रमेश प्रसाद तिम्सिना, टेक्निकल पर्सनमा होमबहादुर लिम्बु, टेक्निसियन नरेन्द्र मानन्धरले पनि सहयोग गरेका थिए।
प्रोटोटाइपको स्थलगत निरीक्षणमा पुगेका उपमेयर अइन्द्रबिक्रम बेघाले पहिलो पटक विजुली उत्पादन भएकोमा खुशी व्यक्त गर्दै धरानमा खोलाबाट पनि विजुली उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए। यस्तो अभियान चलाउदै जाने हो भने सबै खोलाबाट विजुली उत्पादन गर्न सक्छौं,उनले भने।