
साउन २४, काठमाडौ : धरानको सर्दुखोला छेऊ, निशाने खोला छेऊमा थरीथरीका विरुवा रोपिएको छ । फलफूल (कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली,
सयपत्री), लगायत अन्य जातका विरुवा रोपिएको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघालगायतको उपस्थितिमा सयौं थरी विरुवा रोपिएको हो ।
विरुवा रोप्नका लागि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि, धरानबासी साथै बेलबारी, तरहरादेखि पनि मानिसहरु आइपुगेका थिए । प्रत्येक शनिबार मेयर साम्पाङको आहवानमा विभिन्न ठाउँमा वृक्षारोपण भइरहेको छ ।
कार्यक्रममा उपस्थित मेयर साम्पाङले धराने जनताले पानीकै लागि वृक्षारोपण गरिरहेको बताए । हामी अहिले जति पनि विरुवा रोपिरहेका छौं, पानीको स्रोत र मुहान नसुकोस् भनेर नै हो, उनले भने ।
कार्यक्रममा उपस्थित उपमेयर अइन्द्रविक्रम बेघाले धराने जनताले वृक्षारोपण होस् वा श्रमदान गर्न देखाएको कदम अत्यन्तै गर्व गर्नलायक रहेको बताए ।
वृक्षारोपण कार्यक्रममा भोजपुरबाट प्रतिनिधिसभामा निवार्चित सांसद सुदन किराती, वरिष्ठ गायक दीप श्रेष्ठ, मोडल तथा नायिका रेखा लिम्बु र कलाकारको समेत उपस्थिति थियो । यस्तै, धरानका सहकारीहरु पनि संस्थागतरुपमा नै ठूलो संख्यामा वृक्षारोपणमा सहभागिता जनाएका थिए ।
नायिका रेखाले आफू काठमान्डौ देखि श्रमदान गर्नु आएको बताईन साथै रेखाले आर ईस्क्वायर बुटिक कलेक्सनबाट ३० हजार नगद समेत आर्थिक सहयोग गरिन।रेखाले भनिन ‘अन्य कलाकारहरुले पनि साथ दिएको देखेर र नवआगन्कुक कलाकारले पनि सहयोग गर्नुपर्छ भन्ने मेरो विचार हो।’
यस्तै, शनिबार सयौं जनताले सर्दु खोलामा श्रमदान गरेका छन् । शनिबार अन्य शनिबारभन्दा अझ धेरै जनताको उत्साहपूर्ण उपस्थिति थियो । उपस्थिति देखेर मेयर साम्पाङसमेत उत्साहित बनेका थिए ।
दुधे नानी समेत च्यापेर श्रमदानका लागि पुगेकी धरान–१९ की सुमित्रा लिम्बूले आफूले बिजुली बाल्नका लागि गिटी कुटेर सहयोग गरेको बताइन् । धरान–११ का विर्खबहादुर राईले पाइप बोक्न सघाएका थिए ।
विशेषतः धरानमा पानीकै समस्या छ, पानीको दुःख मेट्न मेयर लागिपरेको देखेर स्वतस्फुर्त यहाँ आइपुगेको हुँ, उनले भने ।धरान–१३ मा निशाने प्रोजेक्टको काम लगभग सकिइसकेको छ । अहिले सर्दुमा इन्टेक निर्माण भइरहेको छ ।
सर्दु, खर्दु र निशानेको पानी ल्याएर निशाने खोला टेऊमा टयाङकी (करिब २ लाख लिटर अट्ने खानेपानी ट्याङ्की निर्माणस्थल) बनाएर जम्मा गरिने मेयर साम्पाङ बताउँछन् । कार्यक्रममा सयौं धराने, भूपु लाहुरेलगायत उत्साहपूर्ण सहभागिता थियो ।
मेयर साम्पाङले धराने जनताले स्वतस्फुर्त आएर देखाएको सहानुभूतिप्रति विशेष धन्यवाद व्यक्त गरे । मेयर साम्पाङले सर्दु, खर्दु र निशानेको पानी जम्मा गर्न ट्याङ्की निर्माणका लागि जनता आएर जनश्रमदान गरिरहेको बताए ।
उनले जसरी भएपनि धराने जनतालाई पानी खुवाएर छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । यतिका जनता आफैं लाग्दा म जत्तिको भाग्यमानी मेयर कोही छैन जस्तो पनि लाग्छ, उनले भने म जनताकै कामको लागि अहिले पनि खोलाखाल्सी दगुरिरहेको छु।