
साउन १४, धरान : सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ)यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्।
धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उनले अभियान नै सुरु गरेका छन्। उनको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन्।
धरानको नेतृत्वमा नआउँदासम्म उनी हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिन्थे। त्यसबेला उनले गरेको काम र अभियानको चर्चा खासै थिएन। कतिपय उनले चलाएको अभियानमा असफल पनि भए साम्पाङ। तर उनी सफलता नै सफलताको कडी हो भन्ने बुझेर उनले आफ्नो अभियान निरन्तर जारी राखे।
दक्षिण एशियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको समस्या समाधानका लागि उनले अभियान चलाए।
खानेपानी समस्याका विषयमा उनको अझ बढी चासो र चिन्ता थियो। खानेपानी बोर्डका कार्यकारी निर्देशक, तत्कालीन नगर प्रमुख तिलक राई, धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई उनले टेलिफोनमा थर्काएका भिडियो जनताले प्रत्यक्ष हेर्न पाएका थिए।
जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाएको गहिरो सहानुभूतिले उनलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पु-र्यायो।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा करिब पाँच हजार मतान्तरले धरान उपमहानगरपालिकाको प्रमुखमा सानदार जीत निकाल्न सके।
धरानको कुल मतदाता एक लाख ३२४ जना रहेकामा ६२ हजारले मतदान गरेका थिए। त्यसमध्ये २० हजार ८२१ मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई मत दिएका थिए। आर्थिक अवस्था त्यति राम्रो नभएका उनलाई चुनाव खर्च पनि उनीकै समर्थकले जुटाइदिएका थिए।
नेतृत्वमा पुगेपछि जनतासँग गरेको वाचा मात्र बिर्सने कतिपय नेताहरुका लागि उनी प्रमुखमा जित्दै गर्दा यस विषयमा निकै सचेत देखिए। उनी प्रमुखको कुर्सीमा बसेपछि पनि धराने जनताको साथ लिएर सडकमै उत्रिएका छन्।
जनता पनि उनको साथ छाडेका छैनन् र उनका समर्थक, शुभचिन्तक अझ बढेको बताउँछन् अभियानका सहयोगी हरि श्रेष्ठ। तीन लाख जनसङ्ख्या बस्ने धरानमा विगतका जनप्रतिनिधिले खानेपानीको विषयमा कसैले ध्यान नदिएको लिएको ऋणको पनि सदुपयोग नभए पनि जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको उनको भनाइ छ।
उनले आफ्नो सम्पूर्ण समय पदीय जिम्मेवारीमै लगाएका छन्। साताको दुई दिन शुक्रबार र शनिबार समर्थक र शुभचिन्तकका साथमा कार्यस्थलमै जान्छन् भने बाँकी दिन उपहानगरको दैनिक र प्रशासनिक कामका लागि दिन्छन्। उनले निर्वाचनमा प्रतिबद्धता जनाएको काम निर्वाचित भएर पदभार ग्रहण गरेकै दिनदेखि कार्यान्वयनका लागि लागे।
धरानको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्न पानी व्यवस्थापनका लागि उनले यतिबेला आफ्नो बढी समय खर्चिएको स्थानीयवासी बताउँछन्। उनले दैनिक गर्ने हरेक कामको जनतालाई आफ्नो फेसबुक पेजबाट जानकारी गराउँदै आएका छन्।
आफूले जिताएको जनप्रतिनिधिले के गर्दैछ भन्ने जानकारी फेसबुक पेजबाट जनताले थाहा पाउँदा मतदाता पनि खुसी लागेको धरान १५ का विष्णु लिम्बू बताउँछन्। उनी भन्छन्, ‘त्यही सूचनाका आधारमा जनता आफ्ना जनप्रतिनिधिको काममा सहयोग गर्न जाने गरेका छौँ।