
साउन ८, काठमाडौ : राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न
सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रबार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराइन्। उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा
दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन्। सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन्।
उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन्।
सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताइन्। उनले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता
वितरण गर्ने हरेक देशको आ-आफ्नो प्रचलन रहेको बताइन्।
सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताइन्। उपाध्यक्ष पौडेलले बुबा र आमा दुबै वंशजका छन् भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताइन्।