
साउन ३, काठमाडौ : मेयर बालेन साह आइतबार बिहान साढे आठ बजे काठमाडौंको डिल्लीबजारमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा आकस्मिक निरीक्षण गर्न पुगे।
स्कुलमा विहान कक्षा १२ को विद्यार्थीको पठनपाठन भइरहेको थियो। विज्ञान विषयको कक्षामा मेयर बालेन आकस्मिक प्रवेस गरे। विद्यार्थीसँग बसेर केहि बेर कक्षामा हुने गरेको शिक्षणसिकाईको प्रकृया बुझे।
मेयर बालेनले साथै २८ बडाका वडाध्यक्ष भाइराम खड्कीलाई समेत स्थलगत निरीक्षण गर्न लगेका थिए। करिब ३० मिनेटको समय मेयर बालेनले पद्यमोदय स्कुलमा बिताए। यस अवधिमा स्कुलको शौचालयदेखि कक्षाकोठा तथा शिक्षण सिकाईका प्रणालीबारे राम्ररी बुझे।
त्यही भएर त उनले स्कुलमा स्मार्ट बोर्ड झुण्डिएको देखेर शिक्षकलाई बोलाएर कसरी चलाउने बारे जिज्ञासा राखे।‘तपाईहरु यो स्मार्ट बोर्डबाट कसरी पढाउनु हुन्छ ?
मलाई पनि देखाउनुस त, मेयर बालेनले स्कुलका प्रअ नारायण गौतमसँग जिज्ञासा राखे। प्रअ गौतमले पनि मेयरको जिज्ञासा मेटाउन स्मार्टबोर्डबाट उपस्थित विद्यार्थीलाई पढाउन थाले अनि प्रअ गौतमले भने ‘मेयर साब , हामी हाम्रो स्कुललाई महानगरको नमूना विज्ञान विद्यालय बनाउन चाहन्छौं।
हजुरले यसकोलागि आर्थिक ब्यवस्थापन गरिदिनु पर्यो। मेयर बालेनले पनि तुरुन्तै आफुले यसकोलागि प्रयाप्त बजेट छुटाइ सकेको समेत जनाए। यति मात्र होइन मेयर बालेनले काठमाडौं महानगरको ९१ पटै सामुदायिक विद्यालयहरुमा स्मार्ट बोर्डको ब्यवस्थापन गर्न, कक्षा १–५ सम्मको बालबालिकालाई किताबको भारी नबोकाउन कक्षाकोठामै लकरको समेत ब्यवस्था गर्न यस वर्षको बजेटमा सबै भन्दा बढी रकम शिक्षा क्षेत्रमा छुटाएको स्पष्ट पारे।
हाम्रो विद्यालयमा प्रारम्भिक बालकक्षादेखि १२सम्म एक हजार २ सय विद्यार्थी छन्। तर हामी कहाँ कक्षा १–५ सम्मका १५० विद्यार्थीकोलागि योजना कार्यन्वयन इकाईले ब्यवस्था गरीदिएको आधुनिक बेन्छ छ। तर कक्षा ६–१० का बालाबलिकालागि पुराना बेन्च देखेर मेयर साबले दुइ खाले बेन्चबारे जिज्ञासा राख्नु भयो, प्रअ गौतमले नागरिकसँग भने ‘हामीले बजेट
अभावमा सबैलाई नयाँ बेन्चको ब्यवस्था गर्न नसकेको वास्तविकता बताइ दियौं।’ उनले थपेकेहि बेर मेयर साब गम्भिर हुनु भयो र सबै बेन्च एकै खाले गर्न ब्यवस्था गरिने प्रतिबद्धता जनाउनु भयो।यसरी स्थलगत रुपमै नबोलाएरै आकस्मिक हाम्रो दुःखसुख बुझ्ने मेयरको रुपमा बालेन सरलाई हामीले पायौं।
गत शुक्रबार पनि मेयर बालेन सामुदायिक विद्यालयको यथार्थ बुझन उनी त्रिपुरेश्रमा रहेको विश्वनिकेतन माविमा पनि ८ बजेर ३० मिनेटमा पुगेका थिए। त्यसदिन विद्यालयमा आकस्मीक मेयर बालेन पुग्दा विद्यार्थी र शिक्षकहरु निकै खुशि भएका थिए। कक्षा १२को इकोनोमिक कक्षामा विद्यार्थीसाथै मेयर बालेनले १० मिनेट बिताए।
कक्षामा शिक्षकले गरेको शिक्षणसिकाईको प्रणालीबारे राम्ररी बुझे अनि भने भाईबहिनीहरु तपाईहरु पढेर के बन्नु हुन्छ? अब हामी युवाहरु नेपालमै बसेर देश विकासकोलागि काम गर्नु पर्छ है। नेपालमै बस्नु पर्छ है। विद्यार्थीहरु एकै स्वरमा भने ‘हाम्रोलागि अनुकुल वातावरण भए अवश्यनै बस्छौं। कसलाई पो परिवार छाडेर अर्काको देशमा गएर दुःख पाउनु मन छ ।
त्यसपछि मेयर बालेन शिक्षकहरुसँग पाठ्यक्रमबारे सोधिखोजी गरे र भने ‘सर हाम्रो पाठ्यक्रम देश र माटो सुहाउँदो छ कि छैन। छैन भने त्यस अनुसार बनाउन पहल गर्नु होस्।’ उनले यस स्कुलमा ४० मिनेटको बसाइँमा स्कुलको सबै कक्षाकोठा, शौचालय र भौतिक पुर्वाधारबारे पुर्ण जानकारी लिए। विद्यार्थी भाइबहिनीसाथै फोटो र सेल्फी खिचाए अनि अटोग्राफ पनि दिए।