
साउन २, काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रवक्ताका रूपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर नियुक्त भएका छन् । उनी काठमाडौं महानगरपालिकाको सूचना प्रविधि
समितिका संयोजकसमेत हुन् । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । साथै, बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा
प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छ वटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।
तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी हुनुभएको थियो । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थान राजस्व नतिरेको जानकारी गराएका थिए ।
बैठकले सामुदायिक कुकुर व्यवस्थापनका लागि सहकार्य गर्दै आएको मनुमित्र कार्यक्रमको म्याद १ बर्ष थप गरेको छ । कार्यक्रमको म्याद गएको असार १४ गते सकिएको थियो । महानगर क्षेत्रभित्र सडकमा डुलिरहने कुकर व्यवस्थापनका लागि मनुमित्र नाम दिएर कार्यक्रम थालिएको थियो ।
१६ मार्च २०१६ बाट ह्युमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्स्टिच्युटले महानगरसँग सहकार्य थालेका थिए । ३ बर्ष भित्र, सहरका कुकुर गणना गर्ने, खोप लगाउने तथा बन्ध्याकरण गर्ने र पशु अधिकारका लागि काम थालिएको थियो । औषधि प्राप्त गर्नेलगायत विभिन्न खालका समस्या भएपछि लक्षित अवधिमा काम सकिएको छैन ।
वैठकमा बोल्दै प्रमुख शाहले, खुल्ला सीमाका कारण सामुदायिक कुकुर निर्मुल गर्न नसकिने भएकोले व्यवस्थापनमा काम गर्नुपर्ने बताउनुभयो । ‘कुनै ठाउँमा कुकुर छैनन भने अर्को ठाउँबाट आएर कुकुर बसोबास गर्न थाल्छन ।
काठमाडौँलाई सामुदायिक कुकुर मुक्त बनाइयो भने छिमेकी जिल्लाबाट आउँछन् । त्यसैले उनीहरुलाई पनि सुरक्षित हुने र मानिसहरुलाई पनि असजिलो नहुने गरी व्यवस्थापनको काम गर्नु पर्छ । प्रमुख शाहको भनाइ थियो ।
त्यस क्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले, इन्द्रजात्रामा भगिनी नगरका प्रमुख तथा प्रतिनिधि बोलाएपछि के गर्ने? कसरी गर्ने? कार्ययोजना बनाउनु पर्ने बताउनुभयो । कार्यपालिकामा उठेका कतिपय विषयहरु अन्य सामान्य
समयमा छलफल गरेर समाधान गर्न सकिने खालमा पनि छन् । यसलाई व्यवहारिक कार्यान्वयनमा ल्याउनु पर्छ । उपप्रमुख डंगोलको भनाइ थियो ।
बैठकमा कार्यपालिका सदस्यहरु हीरालाल तण्डुकार, प्रोम थापा, सरोज ढकाल, ईश्वरमान डंगोल, राजेन्द्रकमार श्रेष्ठ, चिनीकाजी महर्जन, मचाराजा महर्जन, भुवन लामा, दलबहादुर कार्की, विमलकुमार होडा, बालकृष्ण महर्जन, न्हुच्छेकाजी महर्जन, अनिता कार्की ढोलीलगायत कार्यपालिका सदस्यहरुले धारणा राखेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।KTM Khabar