२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

चम्किए मेयर साम्पाङ धमाधम वृक्षारोपण अभियानमा, एकैदिनमा ३ स्थानमा वृक्षारोपण !

असार २७, काठमाडौ : धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले सुरु गरेको वृक्षारोपण अभियानले तिव्रता पाएको छ । हिजो शनिबार धरानमा एकैदिनमा ३ स्थानमा वृक्षारोपण गरिएको छ ।

धरानमा बाँदर आहारका लागि बजार पस्ने गरेकाले बाँदरको उद्दण्डलाई रोक्नका लागि पाँचकन्या मन्दिर क्षेत्रमा वृक्षारोपण गरिएको हो । मेयर साम्पाङ भन्छन्, बाँदर घर र शहर हेर्न आउँदैन । आहार नभएपछि शहर आउने हो ।

बाँदर आएर शहरमा उपद्रव नगरोस् भनेर वृक्षारोपण गरिएको उनले बताए । उनलाई सयौँ धरानेहरुले बिरुवा आफूसँगै लिएर गएर साथ दिएका थिए । साथै फ्लोरिकल्चर एसोसिएसन नेपाल धरान र प्राइम भिजन इन्टरनेसनल कलेजले पनि बिरुवा उपलब्ध गराएर साथ दिएको हो ।

शनिबार करिब ३ सय बिरुवाहरु रोपिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाललले करिब १ सयभन्दा बढी बिरुवा रोपेको हो । साथै, मन्दिर आसपासका क्षेत्रमा फोहोर व्यवस्थापनका लागि डस्टबिन पनि राखिएको छ ।

अम्बा, एभोकाडोलगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो । लाङ्घाली सामुदायिक वन उपभोक्ता समूहले पनि वृक्षारोपण गरेको छ । समूहकी सचिव कमला गौतमका अनुसार शनिबार ५० बिरुवाहरु रोपिएको हो । उनले दैनिक बिरुवाहरु रोप्ने बताइन् ।

लाङ्घाली सामुदायिक वनको हलदेखि ३ कुनेसम्म फुलबारीको रुपमा विकास गर्ने उनले बताएकी छन् । उनले भनिन्, धरानको प्रवेशद्वार भएकाले पर्यापर्यटन प्रवद्र्धन गर्न वृक्षारोपण गर्छौँ । वृक्षारोपण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री भीम आचार्य, प्रदेशसभा सदस्य उमिता बराइली, सावित्री जोशी र उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघालगायतको उपस्थिति रहेको थियो । बिहीबार धरानको बमधारा परिसरमा वृक्षारोपण गरिएको छ ।

धरान सरोकार समाज, लायन्स क्लव अफ पन्चकन्या, बमधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र सामुदायिक सुरक्षा जालोको सहकार्यमा विभिन्न प्रजातिका ७ सय बिरुवा रोपिएको हो । औषधिजन्य तथा फलफूलका बिरुवाहरु रोपिएको हो ।

लायन्स क्लब अफ पन्चकन्याकी अध्यक्ष एकता श्रेष्ठका अनुसार अमला, तितरी, सजिवन, किम्बु, बेल, सरिफा, आँप, सिरिस, अशोक, नीम, खनिउ, बोटल ब्रस, अर्जुन, पलास, रिठ्ठा, रक्तचन्दन, तेजपत्ता, पिपल, बाँस, अस्नालगायत २३ प्रजातिका बिरुवा रोपिएको छ ।

धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सल्लाहाकार सरु जोशी श्रेष्ठ, सदस्य सम्राट श्रेष्ठ, नेपाल जेष्ठ नागरिक संघकी अध्यक्ष सरला कायस्थ, लायन्स क्लब प्रदेश १ का डिस्ट्रिक्ट गवर्नर धिरज गुरुङ, फस्र्ट लेडी लायन्स रेखा गुरुङ, सरिता राई (गुरुङ), लायन्स क्लब पञ्चकन्याका सचिव शोधाना गुरुङ, बालगृह महासंघ प्रदेश १ की अध्यक्ष नैनकला न्यौपाने,

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, बमधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र दर्नाल, भेन्चर वेस्ट इनर्जीका मदन श्रेष्ठलगायतले वृक्षारोपण गरेका थिए ।

शुक्रबार लायन्स क्लब अफ पञ्चकन्याले बराहक्षेत्र नगरपालिकास्थित पूर्वकै पर्यटकीय गन्तव्यका रुपमा परिचित अमाह सिमसारमा एक हजार फलफुल र रुखको बिरुवाहरु रोपेको छ । अमाहा वन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिबार वृक्षारोपण कार्यक्रमको आयोजना गरी बिरुवा रोपेको हो ।

अमाहा सिमसार धरानदेखि करिब आठ किलोमिटरको दूरीमा बराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाहा सिमसार चर्चित बन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिकस्थल लगायतको निर्माण गरेको छ ।

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।