२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

खुशीको खबर ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी एकदेखि संचालनमा आउने !

असार १४, काठमाडौ : राष्ट्रिय गौरवको आयोजनामा पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फको सम्पूर्ण काम सकिएको छ। हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण

आगामि जनवरी एकदेखि विमानस्थलबाट हवाई सेवा संचालन गर्ने लक्ष्य राखेको छ। तर, तोकिएको समयमा उडान सुरु हुने वा नहुने भन्ने अझै यकिन भईसकेको छैन। विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रुपमा तयार भएको आयोजनाले बताएको छ।

आपतकालिन अवस्थामा यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिने भएको छ। विमानस्थलका लागि अब आन्तरिक रुपमा गर्नुपर्ने काम बाँकी छैन। आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले विमानस्थलको धेरैजसो काम सकिएको बताए।

विमानस्थल संचालनका लागि केही प्रक्रिया बाँकी छन। क्यालिब्रेसन फ्लाइट हुन बाँकी छ। भन्सार, अध्यागमन लगायतका निकायको पनि तयारी हुनुपर्छ। तर पूर्वाधार बनाउने काम सकिएको छ, उनले भने।

उनका अनुसार अब विमानस्थलका लागि आवश्यक पूर्वाधार बनाउन बाँकी छैन। थप संरचना बनाउनु पर्ने आवश्यकता महसुस भएमा बाहेक योजनामा रहेका सबै काम पुरा भएको उनले बताए।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो।

यो बीचमा कोरो’ना भाइ’रस संक्र-मण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रह्यो। को-रोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।

को’रोनाको अप्ठेरोले तोकिएको समयमा सबै काम नसकिएपछि एकवर्षका लागि थपिएको म्याद आगामि जुलाई १० का सकिन्छ। तर, विमानस्थल अहिले पूर्ण रुपमा तयार भइसकेको छ।

जनवरी एकदेखि उडान संचालन गर्ने टार्गेट राखेर योजना भने बनेको हो। विमानस्थल संचालन कार्यदलले त्यसका लागि काम गरिरहेको छ, उनले भने, बाँकी रहेका केही काम भएमा जनवरी एकमा विमानस्थल संचालनमा ल्याउन समस्या पर्दैैन।’

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन। यी जहाज २ सय सिट भन्दा कम यात्र क्षमताका हुन्। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरि ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाई ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ।

विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको पौडेलले बताए। ‘हामीसँग अन्तर्राष्ट्रिय उडान गर्न सक्ने ठुला ३ वटा र आन्तरिक उडानका ८ गरि ११ जहाज पार्किङ क्षमता छ। टर्मिनल भवनको क्षमतामा पिक आवरमा ६१० जना यात्रुलाई ह्याण्डल गर्न सकिन्छ,’ उनले भने।

विदेशी निर्माण कम्पनिले विमानस्थल पूर्णता दिएपनि नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको भने अहिलेसम्म टुंगो लागेको छैन। ती कामको सुरुवात नै भएको छैन। काम कहिले सकिन्छ भन्ने कसैलाई थाहा छैन। स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल संचालनमा आउने, अन्यथा ढिलो हुने भएपनि ती निकायले तदारुकता देखाएका छैनन्। हवाईजहाजको पहुँचमार्गमा पर्ने लेखनाथको रिट्टेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्याण्डफिल साइट व्यवस्थापन, विमानस्थलमा भित्रिने भेलबाढी व्यवस्थापन, आउजाउँमा पहुँच पुग्नेगरि सडक बिस्तार लगायतका मुख्य काम बाँकी नै छन।

बाहिरी संरचनाको केही काम बाँकी छ। पूर्वतर्फ एप्रोचमा पर्ने रिठेपानी डाँडाको ४० मिटर कटान गर्नुपर्ने हुन्छ। त्यस्तै विमानस्थलको दक्षिणतिर डेढ किलोमिटरको दूरीमा ल्याण्डफिलसाइट छ, त्यसलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ। ती काम नभएसम्म विमानस्थल संचालनमा समस्या हुन्छ, उनले भने।

पहुँचमार्गमा पर्ने रिट्टेपानीको डाँडाको चुचुरोबाट ४० मिटर तलसम्म काट्नुपर्छ। डाँडा कटान गर्नुपूर्व गरिने वातावरणीय प्रभाव मुल्यांकन (इआइए)को प्रक्रिया चलिरहेको छ। डाँडाको १४ मिटर उचाई घटाएपछि बल्ल क्यालिब्रेसन फ्लाइट सम्भव हुन्छ। तर, नियमित उडान–अवतरणका लागि १२ देखि ४० मिटर उचाइ घटाउनुपर्छ। डाँडा कटान गर्दा ६ सय रुख पनि काटिनेछन्।

यस्तै विमानस्थलको अर्काे समस्या हो भेलबाढी नियन्त्रण हो। वर्षायाममा बजारतिरबाट सोहोरिएर गएको भेलबाढीले विमानस्थलको पूर्वि भेगमा क्षति पुर्‍याउने गरेको छ। आयोजनाले नै भित्रिखण्डको भेल व्यवस्थापनको लागि नालाको आकार बढाएको छ भने बाहिरी काम भने थाती रहेको छ, जुन सिंचाई विभागको जिम्मा हो। नागरिक

२०७९ असार १४, मंगलवार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार