
असार १२, काठमाण्डौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई टाइगर अर्थात् बाघको संज्ञा दिनुभएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएर आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिने क्रममा आफूले बाघजस्तै भएर काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, मैले नौ महिनामा धेरै राम्रा काम गरेको छु, टाइगर अभी तक जिंदा है । कार्यक्रममा बोल्दै मन्त्री आलेले आफूले गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु ।
बाँकी अधुरा रहेका काम अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु । विमानस्थलहरूको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई
फाइदा पुग्ने थुप्रै कामबारे मन्त्री आलेले पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो । उहाँले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्
कतिपय काम आफूले चाहेर पनि गर्न सकिनँ, ती अधुरा काम अन्य दिनमा हुने छन् । मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै राम्रा तथा जुगौँ जुग स्मरण गर्ने खालका काम भएको दाबीसमेत गर्नुभयो ।
यस वर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रमलाई चिर्न मोदीले बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र त्यो कार्यक्रमलाई आफूले अध्यक्षता गरेको विषयलाई पनि उहाँले आफ्नो सफलता भएको जानकारी दिनुभयो ।
यसैगरी मन्त्री आलेले लुम्बिनीलाई प्राकृतिक वनको रूपमा संरक्षण गर्न बुद्धकालीन प्रजातिका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो । पशुपति क्षेत्रमा विश्वरूपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्तामा
सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रङ्गरोगन, सरसफाइ गरिएको विषयलाई पनि महत्त्वका साथ उठाउनुभयो । नेपालबाट हराएका ८६ वटा मूर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको समेत मन्त्री आलेले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।