२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मा भन्नुहुन्छ – विदेशमा रहेका नेपालीकाे नाेट मात्रै हाेइन भाेट पनि चल्ने बनाउनुपर्छ ।

असार ८, काठमाण्डाै : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावसम्बन्धी कानुनमा भएका केही व्यवस्थालाई सच्याउन आवश्यक रहेको बताउनुभएको छ ।

आज मङ्गलवार विदेशमा रहेका नेपालीहरूले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुग्नुभएका महामन्त्री थापाले कानुनमा भएको व्यवस्थामा कम्तीमा पनि पाँच ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

उहाँले कानुनमा भएका केही व्यवस्थालाई सच्याउन सके विदेशमा रहेका नेपालीहरूको नाम पनि मतदाता नामावलीमा समावेश गर्नसक्ने भन्दै अबको ८/१० दिनभित्रमा निर्वाचन ऐनको विषय संसदमा पेस गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महामन्त्री थापाले विदेशमा रहेका नेपालीहरूले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाका लागि चाँडै नै राजनीतिक समझदारी कायम गरी संसदमा पारित गर्ने कुरामा आफ्नाे भूमिका रहने बताउनुभयो ।

उहाँले सकेसम्म आउँदाे साउन १ गतेदेखि नै नेपालबाहिर रहेका नेपालीहरूकाे नाम मतदाता नामावलीमा टिपाउने कुरामा पनि छलफल भएको बताउनुभयो ।

महामन्त्री थापाले भाेलि बुधवारदेखि काठमाण्डाैमा स्थानीयवासीका लागि छुट्टै मतदाता नामावली सङ्कलन केन्द्र बनाइ बाहिरी जिल्लाका लागि फरक मतदाता नामावली सङ्कलन केन्द्रको स्थापना गर्नेबारेमा छलफल भएको पनि बताउनुभयो ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरूको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरूले मताधिकारको प्रयोग गर्न पाउने कुरालाई निर्णयमा पुर्‍याउनका लागि छलफल गरेको बताउनुभयो ।

महामन्त्री शर्माले नेपालबाहिर रहेका ४० लाख नेपालीहरूको भावना गाँस्ने कुरालाई मध्यनजर गरेर यो काम अघि बढाइएको उल्लेख गर्नुभयाे । विदेशमा बसेका नेपालीको भोट चल्ने दिन बनाउन यो काम थालिएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगको नाममा विदेशमा रहेका नेपालीहरूको मताधिकारलाई सुरक्षित गर्न, प्रबन्ध गर्नका लागि आवश्यक कानुन निर्माण गर्ने र आवश्यक प्राविधिक बन्दोबस्त गर्नका लागि आदेश जारी गरेको थियो ।

हामी याे मुद्दालाई निर्णयमा पु-र्याउन अलि गम्भीर रूपमा छलफलमा जुटेका छौँ । विदेशमा बसेका नेपालीको भोट चल्ने दिन पनि बनाउनुपर्छ । नोट चल्ने बनाएर मात्रै हुँदैन ।’

नेपाली काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपालीहरूले पनि आउँदाे चुनावमा मताधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।

महामन्त्री शर्माले भेटमा प्रमुख आयुक्त थपलियाले निर्वाचन ऐनलाई सच्याउने कुरामा संसदमा राजनीतिक दलहरूसँग समझदारी गरी पेस गर्न र पास गर्ने वातावरण मिलाइदिन आग्रह गरेको बताउनुभयो ।

२०७९ असार ८, बुधबार प्रकाशित 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।