२०७९ असार १५ बुधबार
  • काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट दुई साताभित्रै एयर अरेबिया र फ्लाई दुबईले उडान भर्ने !

असार ६, काठमाडौ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नेहरुको चाप बढेसँगै अन्य दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान थाल्ने तयारी सुरु गरेका छन्।

जजिराले गते जेठ २ गतेदेखि यहाँबाट व्यावसायिक उडान भरिरहेको छ। जजिरा छोटो समयमै यात्रुको रोजाइमा पर्दा अन्य कम्पनीले पनि उडानमा चासो देखाएका छन्। गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतबाट जजिरा एयरले साताको

सोमबार, बुधबार र शनिबार गरी तीन उडान भर्दै आएको छ।
जजिराले यात्रुको राम्रो साथ पाएकाले अब तत्कालै दुई कम्पनी ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले गौतम बुद्ध विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेको विमानस्थल महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।

उनका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै उडान थाल्ने तयारीमा रहेको छ। एयर अरेबिया इमरेट्सको लो कस्ट एयरलाइन्स हो। अहिले विमानस्थलबाट अधिकांश खाडी मुलुकका यात्रुले कुवेत ट्रान्जिट गरेर भैरहवा आउने गरेका छन्।

सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका हुन्। त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएको बताइएको छ।

पहिलो उडान भरेको जजिराले जेठ मसान्तसम्म १४ वटा उडान गरेको छ। यो विमानस्थल हुँदै अहिलेसम्म १ हजार २ सय ४७ जना आएका छन् भने १ हजार ७ सय ९८ जना बाहिरिएको जजिराले जनाएको छ।

विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा पूर्ण छुट दिएको छ। जसले गर्दा उडान शुल्क समेत सस्तो भएको छ। जजिराका अनुसार काठमाडौं कुवेत भन्दा भैरहवा कुवेतको यात्रामा प्रति व्यक्ति ८ हजार सस्तो छ।

शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेशसम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन्। विमानस्थललाई लक्षित गरेर भैरहवामा श्रम कार्यालय स्थापना समेत भइसकेको छ।

श्रम तथा रोजगार शाखा सञ्चालनमा आएकाले अहिले काठमाडौं ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ। जसका कारण भैरहवा विमानस्थल धेरै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि नजिक परेको छ।

२०७९ असार ६, सोमबार प्रकाशित 0 Minutes 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार