
काठमाडौ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक अपील गरेका छन्।
सामाजिक सञ्जालमा मंगलबार एक सन्देश जारी गर्दै उनले अब काठमाडौंको फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन्।
मेयर शाहले यसरी नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने बताएका छन्। उनले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टएिर निस्किनुपर्ने बताएका छन्।
कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौं भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन, उनले लेखेका छन् ।
अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौं, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ।
उनले अगाडि लेखेका छन पाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन। यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टएिका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।
यो सबैको लागि निसन्देहः खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौं,’ उनले भनेका छन् । कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद।’
मेयर शाहले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभएको भन्दै अझ धेरै कुरा गर्न बाँकी रहेको बताएका छन्।
‘फोहोरको दीर्घ-कालीन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन,उनले लेखेका छन्।
महानगरले पनि पहिलेका कम-जोरी वा गल्तिहरू नदोहोर्याउने मेयर शाहले बताएका छन्। फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने र महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति नगर्ने उनको प्रतिवद्धता छ।