
काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) बालेनले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् । शुक्रबार बिहान प्रतिक्रिया दिँदै उनले आफ्नो सम्पूर्ण समय महानगरको व्यवस्थापनका लागि
लगाउने प्रतिबद्धता जनाए । उनले भने, ‘अबको ५ वर्ष मेरो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउँछु ।’ नगरवासीले दिएको मतले आफू एकदमै खुसी भएको उनले बताएका छन् ।
थप समाचार, काठमाडौं महानगरकाे मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन साहलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले बधाइ दिएकी छन् । बिहीबार अबेर सम्पन्न भएको मतगणनापछि उनले बालेनालाई बधाइ दिएकी हुन् ।
साथै उनले आफूलाई अमूल्य मत दिएको भन्दै आफ्ना मतदाताहरुलाई धन्यवादसमेत ज्ञापन गरेकी छन् ।
उनले मतदाताहरुले विजयी हुने गरी निश्चय नै मत जित्न नसकेको तर नगरवासी सबैको मन जितेको दावी गरिन् ।
आफूले लोकतान्त्रिक अभ्यासको सम्मान गर्ने र परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने उनले जनाएकी छन् । मेयरमा निर्वाचित बालेनलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धतासमे व्यक्त गरेकी छन् ।
काँगेस नेतृ सिर्जनालाई पाँचदलीय गठबन्धनले साझा उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार उठाएका थिए । उनले दोस्रो स्थान बनाएकी छन् ।
नेकपा (एमाले)का मेयरका उम्मेदवार केशव स्थापितले भने तेस्रो स्थान बनाएका छन् ।