२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

भैरहवाबाट श्रम स्वीकृति नभए जजिराको उडान प्रभावित हुने, के भन्छ श्रम बिभाग ?

जेठ ५, काठमाडौं : जजिरा एयरवेजले उडान शुरूवात गरेकोे हप्ता दिन नहुँदै सरकारले भैरहवाबाट वैदेशिक रोजगारीको श्रम स्वीकृति दिने व्यवस्था शुरु नगरे गौतमबुद्ध

अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न कठिन हुने बताएको छ । उक्त विमान कम्पनीले भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यावसायिक उडान शुरु गरेको हो ।

हाल काठमाडौंमा श्रम स्वीकृति भएका व्यक्तिलाई बसबाट भैरहवा लैजाने गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि जजिरा एयरवेजका जनरल सेल्स एजेण्ट (जीएसए) सोसाइटी इन्टरनेशनलका अध्यक्ष रविचन्द्र

सिंहले सधैं काठमाडौंबाट भैरहवा यात्रु ओसारेर अन्तर्राष्ट्रिय उडान गर्न आर्थिक दृष्टिकोणले सम्भव नहुने बताए ।
हाल जजिराले सोमबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन भैरहवाबाट राति साढे दुई बजे उडान भर्ने तालिका सार्वजनिक गरेकोे छ ।

जजिराले बुधबार १ सय ३० जना यात्रु मात्रै लिएर उडेको बताएको छ । ७५ हजार रुपैयाँ खर्च गरेर काठमाडौंबाट भैरहवासम्म लगेर उडान शुरु गरेको बताउँदै सिंहले सधैंभरी काठमाडौंबाट यात्रु लगेर उडान गर्न नसकिने बताए ।

भैरहवाबाट अन्तिम श्रम स्वीकृति प्रदान गर्ने विषयमा बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग त्यस विषयमा कुरा भएको भन्दै सिंहले भने, ‘मन्त्रीज्यूले तत्कालै भैरहवाबाट श्रम स्विकृति दिने व्यवस्था शुरु गरिने आश्वासन दिनु भएको छ ।’

सिंहले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजको उडान सफल बनाउन १ महिनासम्म काठमाडौंबाट यात्रु लगेर भए पनि उडान गर्न आफूहरु तयार भएको समेत बताए ।

जजिरा एयरवेजका भाइस प्रेसिडेन्ट रविन्द्रन भाराथनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित सरकारी निकायले प्रतिवद्धता अनुसार काम गरे आगामी तीन महिनाभित्र भैरहवाबाट नियमित उडान सहज हुने बताए ।

नयाँ विमानस्थलमा जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरूवात गरेकोे बताउँदै भाराथनले यसका लागि सरकारी निकायले भने सहयोग गर्नुपर्ने जिकिर गरे ।

कुवेतबाट जजिराले बेलायत, अष्ट्रिया, दोहा, ओमानलगायतका देशमा उडान गरिरहेकाले भैरहवाबाट सिधै बेलायतलगायतका गन्तव्यका लागि टिकट काट्न सकिने पनि उनले बताए । रातिको समयमा उडान गर्दा स्थानीय यात्रुलाई असहज

भएकाले उडान समय परिवर्तन गर्ने विषयमा पनि कम्पनीले गृहकार्य गरिरहेको उनले जानकारी दिए । जजिरा एयरवेजका अतिरिक्त एयर अरेबियाले पनि भैरहवाबाट उडान भर्ने चासो देखाएको भएपनि यात्रुको आवागमनको प्रतीक्षा गरिरहेको बताइएको छ ।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 0 Minutes 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।