२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

चुनावले रोकेन विदेसिने युवालाई, एयरपोर्टमा विदेश जानेको घुइँचो

बैशाख २९, काठमाडौं : पाँच वर्षका लागि घरदैलोको सरकार छान्ने दिन हो, शुक्रबार। तर, मुखको चुनाव छोडेर हजारौं युवा बुधबार विदेश उडे। अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विदेश जाने युवाले भरिभराउ थियो।

भोट हाल्ने मन हुँदाहुँदै पनि देश छोड्नुपर्दा उनीहरू खिन्न देखिन्थे। ‘देशमै रोजगारी भइदिएको भए मतदानको अधिकारबाट वञ्चित हुनु पर्दैनथ्यो’ पीडा र आक्रोशको एउटै स्वर सुनिन्थ्यो। बिदाइमा पुगेका आफन्तलाई समेत चुनावको रन्कोले खासै छोएको देखिन्नथ्यो।

बुधबार दिउँसो ३ बजे दोलखाका रामेश्वर थापा विदेसिनेहरूको भीडमा मिसिँदै थिए। रामेश्वरलाई बिदाइ गर्न पुगेकी थिइन्, जीवनसंगिनी मनिता शिवाकोटी। काखमा १६ महिनाकी छोरी मयुरा खेल्दै थिइन्। अनि, मनिताबाट छोरीलाई काखमा लिएर रामेश्वरले जीवनसंगिनीसँग सेल्फी खिचे। मोबाइलमा सेभ गरे। छोरीलाई उचाले। गालामा चुप्पा गरे।

उनका आँखामा टिल्पिल आँसु देखिन्थ्यो। छोरीलाई अँगाल्दै भने, ‘बाबा छिट्टै आउँछ, हस् छोरी’।’ हात हल्लाउँदै टर्मिनल भवनतिर लागे। उनी कोरिया जान लागेका रहेछन्। मुखैको स्थानीय निर्वाचनले उनको यात्रालाई रोक्न सकेन।

देशमै रोजगारी पाएको भए किन कोही विदेसिनु पथ्र्यो,’ मनिताले अन्नपूर्णसँग भनिन्, नेताहरू गाउँमा भोट माग्दैछन्। तर, गरिबका सन्तानहरू रोजीरोटी खोज्दै विदेश जानु परेको छ।’ कोरिया जान बुधबार दिउँसो विमानस्थल पुगेका दोलखाका रामेश्वर थापा, श्रीमती र १६ महिने छोरीको साथमा

रामेश्वर मात्रै होइन् चुनावकै मुखमा धनुषाको क्षिरेश्वर नगरपालिका–९ इच्छापुरका रञ्जयकुमार दास पनि साउदी उडे। १७ वर्षकै उमेरमा उनी पैसा कमाउन खाडी भाँसिएका थिए। केही महिना अघि मात्रै उनी स्वदेश फर्केका थिए। तर, स्वदेशमा केही नदेखेपछि उनी चुनावलाई बिर्सेर विदेशको बाटो तताउन बाध्य भए।

‘चुनावमा नेतालाई भोट दिएर केही हुनेवाला छैन,’ उनले भने, ‘बरु विदेश गएर परिवार पाल्न सकिन्छ। यत्रा युवाहरू किन परदेश जान्छन् ? सबैलाई थाहा छ।’ गाउँमा उनको दुई बिघा जमिन छ। तर, सिँचाइको अभाव छ। समयमा मलखाद पाइँदैन। ‘अनि, कसरी अन्न उब्जिन्छ ? उनको प्रश्न छ, ‘यसो भएपछि कसरी परिवार पाल्ने ? सरकारले किसानको समस्या सुन्दैन।’ उनको १२ जनाको परिवार छ। खेतीपातीबाट छाक टार्न मुस्किल हुने गरेको उनले बताए। अध्यागमन विभागका अनुसार एक महिनाको अवधिमा १ लाख ७ हजार ६ सय ६७ जना विदेसिएका छन्।

कक्षा ९ मा पढाइ छोडेर रञ्जय विदेश गएका थिए। ३२ वर्षको उमेरका भए। तर, खाडीमा पसिना बगाउने बाध्यता टरेको छैन। घर बनाउँदा लागेको ९ लाख ऋण तिर्न उनी बुधबार फेरि खाडीतिर लागे। ‘पढेलेखेका युवाहरू त गाडी चलाउन खाडीतिर गइरहेका छन्,’ उनले भने, ‘पढेर पनि गाडी नै चलाउनु पर्ने भए किन पढ्ने ? म नपढेको मान्छे पनि विदेशमा गाडी नै चलाउने गरेको छु।’ गाउँमा चुनावी चहलपहल भए पनि आफू विदेसिनु बाध्यता रहेको उनले बताए।

‘देशमा उद्योगधन्दा खुलेको भए, रोजगारीका अवसर भएको भए युवाले विदेश जानु पर्दैनथ्यो,’ उनले भने, ‘यही काम पाइन्छ भने युवाहरू दुःख गर्न किन विदेश जान्छन् ?’ देशमा जग्गाजमिन बाँझो राखेर युवाशक्ति सबै विदेश गइरहेको उनी बताउँछन्। ‘देशमा उत्पादन नहुँदा विदेशबाट कमाएर ल्याएको पैसा चामल, दाल, तरकारी, मरमसला किन्दा विदेशमै गइरहेको छ,’ उनले भने।

मतदानबाट आफू वञ्चित भए पनि अरूलाई भने सचेत भएर मतदान गर्न उनले आग्रह गरे। ‘हामीले त भोट हाल्न पाएनौं,’ उनले भने,‘ भोट हालेर राम्रो नेता चुन्नुहोला। जसले गाउँमा रोजगारी दिन सकून। गाउँको विकास गरून्।’

भोजभतेरकै भरमा भोट नबेच्न उनले अनुरोध पनि गरे। ‘गरिबहरू लोभमा पर्छन्, नेताहरूले भोट किनेर चुनाव जित्छन्,’ उनले भने, ‘त्यसैले हामी जस्ताको भविष्य अन्धकार भयो। खाडी जानु परेको छ।’ मनाङका ३९ वर्षीय डम्बरबहादुर गुरुङ दुबई जाँदै थिए। दोस्रो पटक विदेश उड्न लागेका थिए उनी। डेढ लाख ऋण काढेर दुबई भासिनु परेको पीडा सुनाए। ‘गाउँमा नेताहरू झूटो बोलेर झुक्याउँछन्,’ उनले भने, ‘विदेश जाँदा एजेन्टले छक्काउँछ, परदेश पुग्दा अर्काको सेवा गर्नुपर्छ। गरिबको कर्म नै फुटेको हुन्छ।’

भोट हाल्न नपाई विदेसिनु परेकोमा गुरुङ खुसी थिएनन्। ‘भोट खसाल्ने मन त छ तर, के गर्ने ?’ उनले भने, ‘हामीलाई आफ्नै परिस्थितिले घेरेको छ।’ चुनावताका नेताहरू घामझै गाउँमा झुल्किने गरे पनि जितेपछि जनतालाई मान्छे नै होइन जस्तो व्यवहार गर्ने गरेको उनले दुःखेसो पोखे। ‘भोट माग्न आउँदा यो गर्छु, त्यो गर्छु भन्छन्,’ उनले भने, ‘जितेपछि केही गर्दैनन्। गाउँमा पाँच रोपनी पाखोबारी छ। पानी लाग्दैन। बाली हुँदैन। के खाने ? त्यसैले परदेश हिँडेको।’

सोलुखुम्बुका फणीन्द्र गिरी देशले राजनेता नपाउँदा युवाहरूले देश छोड्नु परिरहेको बताउँछन्। ४० वर्षीय फणीन्द्र गिरी भोट हाल्न छोडेर बहराइन उडेका छन्। ‘सरकार चलाउने नेता नै हामीले गतिलो पाएनौं,’ उनले भने, ‘गठबन्धन भनेको छ, देश खाँको छ। बाँडीचुँडी खाएको छ। जनताको अवस्था कस्तो छ ?’

यसअघि निर्वाचित स्थानीय तहका पदाधिकारीले समेत जनताका दुःख पीडा नबुझेको उनको आरोप छ। ‘गाउँमा देशको राजधानी गयो भनेको छ, त्यही लुटेर खाएको छ,’ उनले आक्रोश पोखे, ‘पाँच वर्षमा गाउँमा के विकास हुनु ? छोटे राजाहरूको धाकधम्की छ। हामी जस्तालाई सास्ती नै सास्ती छ। घुस नदिए केही काम बन्दैन।’

भोट नहाल्ने अवस्थाको सिर्जना नेताहरूले नै गरिरहेको उनको आरोप छ। ‘भोट हाल्ने मन छ तर, के गर्ने ?’ उनको प्रश्न छ, ‘हामी गरिबलाई हेर्ने सरकार भएन। देशमै रोजगारी भएको भए चुनावमा भोट हाल्न पाइन्थ्यो नि।’

कैलालीका २५ वर्षीय दीपेन्द्र चौधरी पढाइ छोडेर बुधबार कोरिया उडे। कामको खोजीमा विदेश जाँदा उनको पढाइ कक्षा १२ मै रोकिन पुगेको छ। पाँच लाख ऋण काढेर कोरिया जान लागेको उनले बताए। ‘हाम्रो देश बेरोजगारीको कारखाना भयो,’ चौधरीले अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भने, ‘यहाँ रोजगारी पाउनै मुस्किल छ। भोकै बस्नुभन्दा त विदेश गएकै राम्रो नि।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार