
काठमाडौ : गौतमबुद्ध विमानस्थलमा हाल हप्ताको ३ उडान मात्रै हुने भएको छ। बुद्ध पूर्णिमाको दिन अर्थात् जेठ २ गतेबाट जजिराले हप्ताको ३ उडान गर्ने भएको हो।
कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हप्ताको ३ उडान गर्ने अनुमति पाएको छ। एयरलाइन्सको भैरहवा–कुवेत भाडा हाललाई ३० हजार २१४ रुपैयाँ तोकिएको छ।
भैरहवा कुवेत उडान समय साढे ५ घण्टा हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान अनुमति शाखाका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले हालसम्म जजिरा एयरलाइन्सले मात्रै अनुमति लिएको बताए।
‘अहिले जजिराले हप्ताको ३ वटा उडान गर्ने अनुमति लिएको छ’, भुलले भने, ‘अरु एयरलाइन्सले पनि प्राधिकरणमा चासो व्यक्त गरिरहेका छन्। उनीहरु आफ्नो प्रक्रियामा होलान्।’
जजिरा एयरवेजले काठमाडौंमा भइरहेका उडानलाई नियमित राखी भैरहवामा उडान थप गरेको प्राधिकरणले जनाएको छ।
भैरहवामा सोमबार, बुधबार र शुक्रबार उडान गर्ने अनुमति पाएको छ’, उनले भने, ‘काठमाडौंको उडान कटौती गरेर भैरहवा थपेको होइन। भैरहवाको ३ उडान थपेको हो।’
नयाँ विमानस्थलको लागि प्राधिकरणले प्रमोसनल प्याकेज घोषणा गर्न पाउने नियमावली मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ। प्राधिकरणले नियमावलीअनुसार प्रमोसनल प्याकेज बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ।
प्राधिकरणले ३ वर्षको लागि छुटको प्रस्ताव मन्त्रालयमा पठाएको छ। पहिलो वर्ष पार्किङलगायतमा ५० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशत छुट हुने गरी प्याकेज ल्याएको छ।
मन्त्रालयले उक्त प्रमोसनल प्याकेज पारित गरेसँगै कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जेठ २ गतेबाट विमानस्थल नियमित चल्ने बताए। अधिकारीले काठमाडौं र भैरहवा विमानस्थल चौबीसै घण्टा चल्ने बनाउने बताए।
‘अहिले काठमाडौंमा जहाज अवतरण गर्न नसके भारत जाने अवस्था छ’, अधिकारीले थपे, ‘गौतमबुद्ध विमानस्थल सञ्चालन आएसँगै काठमाडौंमा अवतरण गर्न नसकेका जहाज भैरहवामा अवतरण गर्न सक्छन्।’
उनले काठमाडौंमा हवाइ ट्राफिक बढेसँगै जहाज डिले हुने समस्या भैरहवा विमानस्थल सञ्चालनमा आएसँगै घट्ने दाबी गरे। नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका करिब १ दर्जन एयरलाइन्सका प्रतिनिधिले विमानस्थलको भ्रमण गर्दै छिट्टै उडान गर्ने जनाएका छन्।
नेपालमा हाल एयर अरेबिया, एयर इन्डिया, एयर चाइना, विमान बंगलादेश, फ्लाई दुवई, जजिरा एयरवेज, कतार एयरवेज, सलाम एयर, टर्किस एयरलाइन्सले दैनिक काठमाडौं उडान भर्दै आएका छन्।
प्राधिकरणले नेपाली एयरलाइन्सबाहेक भारत, श्रीलंका, थाइल्यान्ड, चीन र नेपाली बढी कामदार रहेका खाडी देशका एयरलाइन्सले भैरहवाबाट उडान नियमित उडान भर्ने अनुमान गरेको छ।
‘काठमाडौंमा नियमित उडान गरिरहेका एयरलाइन्स कम्पनीहरुले भैरहवा पनि उडान गर्ने बताएका छन्’, गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले भने, ‘दशैँसम्म करिब १ दर्जन कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विश्वास छ।