
बैशाख १०, काठमाडौं– काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुप-योग गरेका छन्।
वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको तयारी गरेका छन्। उनले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन्।
सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ। वडाध्यक्ष खड्काले वडाका महिलालाई वितरणका लागि दुई सय थान साडी पनि खरिद गरिसकेका छन्।
उनले वडा सदस्य सविना राउतमार्फत् साडी खरिद गरेको वडा कार्यालय स्रोतले जानकारी दिएको छ। वडा कार्यालयमा साडीका लागि निवेदन दिएका महिलालाई वडा कार्यालयमा गएर साडी बुझ्न भनिएको छ।
वडा सदस्य पुरुषोत्तम रिजालले वडा कार्यालयले महिलालाई साडी वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको पुष्टि गरेका छन्। ‘मतदाता आकर्षित गर्न सरकारी रकम दुरुपयोग गरियो,’ उनले भने।
वडाध्यक्ष खड्का नेकपा एमालेबाट र वडा सदस्य रिजाल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। एमालेबाटै निर्वाचित अर्का वडा सदस्य कमल केसीले पनि निर्वाचनको मुखमा मतदाता आफूतिर तान्न वडाध्यक्षले साडी बाँड्न लागेको बताए।
उनले वडाध्यक्ष खड्काको काम गर्ने शैली मन नपरेपछि आफू निर्वाचित भएको ६ महिनापछिबाट वडा कार्यालय जानै छाडेको पनि बताए। ‘म वडा बहिष्कारवादी हो।
जितेको ६ महिनाबाट मैले वडा कार्यालय जान छाडेको छु,’ केसीले वडा कार्यालय जान छाड्नुको कारण खुलाउँदै भने,‘वडाध्यक्षसँग विचार, सोचाइ, काम गर्ने शैली मन परेन। यस विषयमा प्रतिक्रिया लिन खोज्दा खड्काको मोबाइल स्विच अफ छ। नेपालखबर