२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

पानी बेचेर दिनको ३ सय कट्दैन, हात पसारेर खान स्वाभिमानले दिँदैन !

काठमाडौं : दोलखाका रामप्रसाद कँडेलले संघर्ष गरेर ६ सन्तान हुर्काए । दुई दशक जागिर खाए । अहिले उनी नयाँ बसपार्कमा पानी बेचेर जीविका गरिरहेका छन् । काम ठूलो सानो त हुँदैन ।

तर, शरीर नै धर्मराउन थालेपछि उनीभित्र न व्यवसाय गर्ने साहस छ, न सन्तानको आडभरोसा । ६ सन्तान भएपछि रामप्रसादलाई लागेको थियो– जीवनको उत्तरार्द्धमा सहज हुनेछ । तर, समयलाई त्यो मञ्जुर भएन । सन्तान लाखापाखा लागे । कमाएको सम्पत्ति सन्तानकै शिक्षादीक्षामा सकियो ।

अनि दालभात जुटाउन बुढेसकालको शरीर घिसारेर पानी बेच्न थाले ।पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस प’क्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी सम्झिएर बलिन्द्र आँसु झार्छन् ।

मानौं भीडभित्र पनि एक्ला छन् उनी ।पानी बेचेर दिनको ३ सय बढी कट्दैन । हात पसारेर खान स्वाभिमानले दिँदैन । ‘जति नै दुःख परे पनि नखाइ नहुने रैछ,’ आँसुु झार्दै उनी भन्छन्, ‘लानु केही छैन, बाचुन्जेल खानैपर्यो ।’ पानी बेच्दै गर्दा उनलाई दुईपटक गाडीले ठक्कर दिइसक्यो ।

‘दुई पटकसम्म गाडीले हानिसक्यो,’ उनी भन्छन्, ‘खै कसरी–कसरी होस आएर बाँचेछु ।’पानी बेच्दा बेच्दै थाकेपछि रामप्रसाद नजिकैको चौतारामा बसेर चिया खाँदै सुस्ताउँछन् । विगत झलझली आउँछ ।

त्यसपछि आँखा गंगा बनाएर आफैंले आफैंलाई सम्हादै काममा फर्कन्छन् ।
मध्यमवर्गीय थुप्रै ज्येष्ठ नागरिकको कथा हो यो । आफ्नो श्रममा बाँच्न चाहने यस्ता पात्र दया होइन, प्रोत्साहन खोजेका छन् । प्रेमको भरोसा चाहेका छन् । -इमेज खबर बाट।

२०७८ आश्विन २३, शनिबार प्रकाशित 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।