
कात्तिक १३, काठमाडौ : दिवालीको अवसर पारेर मंगलबारदेखि अक्षय कुमार अभिनीत फिल्म राम सेतु र अजय देवगन अभिनीत फिल्म थ्यांक गड प्रदर्शनमा आएको छ।
यी दुवै फिल्मबीच बक्स अफिसमा टक्कर देखिएको छ। तर बक्स अफिसमा अक्षयको फिल्मभन्दा अजय देवगनको फिल्म कमजोर सावित भएकाे छ।
भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार तीन दिनमा राम सेतुले ३५ करोड ४० लाख भारतीय रूपैयाँ कमाएको छ भने थ्यांक गडले १८ करोड २५ लाख भारतीय रूपैयाँ कमाइ गरेको छ।
राम सेतुले मंगलबार १५ करोड २५ लाख भारूमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन ११ करोड ४० लाख र तेस्रो दिन ८ करोड ७५ लाख भारू कमाउँदै ३५ करोड ४० लाख भारू कमाएको हो।
थ्यांक गडले ८ करोड १० लाख भारूमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन ६ करोड भारू र तेस्रो दिन ४ करोड १५ लाख कमाउँदै १८ करोड २५ लाख कमाएको हो।
दुवै फिल्मको दिनप्रति दिन व्यापार खस्किरहेको छ। यी दुवै फिल्मले भारतीय समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएका थिए।
अभिषेक शर्माले निर्देशन गरेको फिल्म राम सेतुमा अक्षयसँगै ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिर लगायतको अभिनय छ। फिल्मको कथा निर्देशक शर्माले नै तयार पारेका हुन्।
राम सेतुमा अक्षय राम सेतुको खोजीमा छन्। उनी राम सेतुको अस्तित्व बचाउने कोसिसमा छन् भने केही शक्तिशाली व्यापारीहरू राम सेतुलाई मेटाउन चाहन्छन्।
इन्द्र कुमारको निर्देशन तथा लेखन रहेको फिल्म ‘थ्यांक गड’ मा अजयसँगै सिद्धार्थ मल्होत्रा, रकुलप्रीत सिंह र कीकू शारदाको मुख्य भूमिका छ।
थ्यांक गड कर्जामा डुबेका ब्रोकरको कथा वरिपरि घुम्छ।
थ्यांक गड यस वर्ष प्रदर्शन हुने अजय देवगन र रकुलप्रीत सिंहको दोस्रो फिल्म हो। यसअघि अजय र रकुलको ‘रनवे ३४’ ले पनि बक्स अफिसमा खासै राम्रो कमाइ गरेको थिएन।