
मंसिर १५, ताप्लेजुङ : किवीले बजार नपाएपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् । किवीले बजार नपाउँदा बिक्री नभएर त्यसै खेर जाने अवस्थामा रहेको किसानको गुनासो छ ।
फुङलिङ नगरपालिका ७ दोखुका किसान राजकुमार गुरुङले ३० क्विन्टल (तीन हजार किलो) किवी उत्पादन गरेको बताउनुभयो । ३० क्विन्टल किवीमध्ये चार क्विन्टलमात्र बिक्री भएको बताउँदै उहाँले बाँकी किवी कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो ।
बिक्री नभएका किवी छिमेकी तथा विभिन्न ठाउँमा रहेका आफन्तलाई उपहारसमेत पठाएको गुरुङले सुनाउनुभयो । होलसेल प्रतिकेजी एक सय ५० रुपैयाँका दरले बिक्री गर्दै आएको बताउँदै उहाँले अहिले भने किवीले बजार नपाएको बताउनुभयो ।
सिरिजंघा गाउँपालिका ७ का नरेन्द्र तिवारीले पनि दुःख गरेर रोपेको किवीले बजार नपाएपछि समस्या भएको गुनासो गर्नुभयो । किवी खेतमा रोपेको हुनाले धान रोप्न पनि नपाएको र अब किवी मासेर अन्य बाली लगाउन पनि जराले समस्या हुने उहाँले बताउनुभयो ।
किसानले महँगोमा बिक्री हुन्छ भनेर पाँच वर्षअघि किवी खेती गर्न थालेका थिए । तर अहिले बजार नपाउँदा मेहनत र लगानी खेर जाने चिन्ता भएको उनीहरूको गुनासो छ ।
जिल्लामा कोल्ड स्टोर नहुँदा पनि किवी कुहिएर खेर जाने गरेको छ । ‘एउटा कोल्ड स्टोर हुने हो भने हामीले पछिसम्म पनि बेच्न पाउने थियौँ, किसान राजकुमार गुरुङले भन्नुभयो ।
किवी बिक्री नभएपछि किसानले अहिले घरेलु रक्सी बनाउन प्रयोग गर्ने गरेका छन् । किवी खेती १२ सय मिटरदेखि दुई हजार मिटरसम्म गर्न सकिन्छ । किवीको बोट एक पटक लगाएपछि वर्षाैँसम्म फल दिने भएकाले पनि किसान यसतर्फ आकर्षित भएका हुन् ।