२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

भाईरल वडा अध्यक्षका उम्मेदवार १०० मतले विजयी

सिन्धुपाल्चोक : खुट्टामा पैसा राखेर ढोग्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृत खनाल विजयी हुनुभएको छ ।

उहाँले १ हजार ४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९ सय ४८ मत ल्याउनुभएको छ ।

मेलम्ची नगरपालीका वडा नम्बर १० मा नेपाली कांग्रेस एक्लै र बाँकी चार दल एमाले, राप्रपा, माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो ।

खनालले घरदैलो अभियानमा फुपूले टिका लगाएर आशिर्वाद दिएपछि गोडामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको थियो । विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए । चितबुझ्दो स्पष्टीकरण दिएपछि आयोगले उहाँलाई कारबाही नगरेको हो।

थप समाचार, भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ ।

दाहाल ९ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी ८ हजार ८७ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ३१५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ र राप्रपाका हिमला गुरुङले ६ हजार ५९३ मत प्राप्त गर्नुभएको छ । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का

डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गर्नुभएको छ । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ ।

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार