
जेठ २, काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना विवादका कारण स्थगित भएको छ । काठमाडौं महानगरको मेयर पदका लागि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्म सबैभन्दा धेरै मत पाएको वडा यही हो ।
सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
थप समाचार, धनुषा : विभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् ।
कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।
एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१ र तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्ष जितेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्रकुमार साह २७६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
यस्तै जनकपुरधाम उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत प्राप्त गर्नुभएको छ ।