२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

खाडीमा १० बर्ष बसेर फर्किएक युवा भैँसीपालन बाट महिनामा ४ लाख रुपैयाँ गाउँमै आम्दानी

जेठ २६, म्याग्दी : म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन हि सिद्धयन्ति कार्याणि वा मनोरथैः’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र चाहना पूरा गर्न सकिन्छ भन्ने

उक्तिलाई व्यावहारिकरूपमा नै चरितार्थ गरी दिनुभएको छ ।
१० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका ७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुङ्गानाले पेसा, परिश्रम र पैसालाई जीवनसँग जोडेर

सम्पन्नता र प्रसन्नताको महक प्राप्त गर्नुकासाथै परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ । ‘प्रायः नेपाली युवा विदेश जान मरिहत्ते गर्छन् । विदेश जान भएको घरजग्गासमेत धितो राखेर ऋण लिन्छन् ।

गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्डु घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्बर दिन खेर फालिरहेका हुन्छन्

ढुङ्गानाले भन्नुभयो, ‘परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौँ ।’

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरूले अमेरिका जान उचाले । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामाभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो । आजभन्दा नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुङ्गानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंँसी र दुई जर्सी गाई दुहुना छन् ।

ती भैँसी र गाईबाट दैनिक एक सय ५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुङ्गाना बताउनुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक चार लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।

सबै खर्च कटाएर मासिक झन्डै दुई लाख रुपैयाँको हाराहारीमा बचत हुने उहाँको भनाइ छ । फार्ममा अहिले पचास लाख रुपैयाँ लगानी भइसकेको उहाँले बताउनुभयो । उहाँले भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।

‘बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु-र्याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक एक सय ५० लिटर दूध पु-र्याएपछि बल्ल शरीरमा फुर्ति आउँछ’, ढुङ्गानाले भन्नुभयो ।

प्रतिलिटर ९० रुपैयाँमा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । ढुङ्गानाले बेलुका र बिहान गरी दिनमा दुई पटक मोटरसाइकलबाट बेनीमा दूध पु-र्याउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन भन्ने मेरो मान्यता छ ।’ पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ । जहाँ दुईलाई रोजगारीसमेत दिनुभएको छ ।

भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानाले विदेशमा गएर अरूको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउनुहुन्छ ।

ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिँदैन । आफूलाई फापेको भैँसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले ढुङ्गानाको फर्ममा दुई हजार तीन सय ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक आठ लाख रुपैयाँ पुग्छ । गाईभैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ । उज्यालो अन्लाईन मा खबर छ ।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार