
साउन १८, काठमाडौ : त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित विराटनगर, रामेछाप, भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, जुम्ला विमानस्थलमा नयाँ टर्मिनल भवन
निर्माण यसै वर्ष सुरु गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई यात्रुको चाप बढी हुने आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन बनाउने भएको छ ।
आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै क्यानले ६ वटा आन्तरिक र दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन यसै वर्ष निर्माण सुरु गर्ने घोषणा गरेको हो ।
आन्तरिक विमानस्थलहरू विराटनगर, भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्लालाई स्तरोन्नति गरिने तथा त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण प्रक्रिया सुरु गर्ने क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
हामीले देशैभर नयाँ टर्मिनल भवन निर्माणसहित ६० अर्ब लगानीका विमानस्थल पूर्वाधार परियोजना एकैसाथ अगाडि बढाएका छौँ, उनले भने, क्यानको यसपटकको बजेटले हवाई क्षेत्रलाई नेक्स्ट लेबलमा लैजानेछ ।
क्यानले बहुवर्षीय ठेक्का प्रक्रियाबाट आन्तरिक स्रोतबाटै नयाँ टर्मिनल भवन बनाउने उद्घोष गरेको हो । क्यानले चालू आवका लागि ४१ अर्ब ८५ करोड ६६ लाखको बजेट ल्याएको छ । जसमध्ये २६ अर्ब ८२ करोड ४१ लाख पुँजीगत
विकास खर्च छुट्याइएको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ८ साउनमा बसेको क्यानको सञ्चालक समिति बैठकले यस वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो । यो बजेटले आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिलाई बढी प्राथमिकता दिएको छ ।