
कात्तिक १३, काठमाडौँ : अन्तराष्ट्रिय उडानको लागि एक मात्र विमानस्थल त्रिभुवन विमानस्थलको विकल्पमा अहिले नेपालमा दोश्रो अन्तराष्ट्रिय विमान स्थल सुचारु अवस्थामा छ ।
भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हाल जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा उडान गरिरहेको छ । त्यसो त नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलबाट दैनिक तीन भन्दा बढी उडान भर्ने
एयरलाइन्सहरुलाई अनिवार्य एक उडान भैरहवा स्थित विमानस्थलबाट गर्नुपर्ने नियम बनाएको छ । नियम अनुसार आजदेखि जजिरा बाहेक स्वदेशी एयरलाइन्स हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि भैरहवा स्थित विमानस्थलबाट उडान भर्नुपर्ने हुन्छ ।
त्यस्तै आगामी डिसेम्बर १५ देखि एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेज पनि अनिवार्य भैरहवा स्थित विमानस्थलबाट उडान भर्नुपर्ने बाध्यता हुनेछ । तर हाल कुवेतको लागि जजिराको उडान भईरहँदा म्यानपावर कम्पनीहरुले भने काठमाडौँबाटै उडान भर्दा लाग्ने टिकट शुल्क लिईरहेको पाइएको छ ।
म्यानपावरहरुले वैदेशिक रोजगारमा जानेहरुलाई काठमाडौंबाट उडानको लागि टिकट छैन भन्दै भैरहवा पठाउने तर भैरहवाबाट उड्ने यात्रुहरुसँग काठमाडौँबाट उडे सरह प्लेन टिकटको पैसा लिने गरेको पाइएको छ । भैरहवाबाट उड्दा करिव ८ हजार रुपैयाँ सस्तो पर्छ ।
यसरी सस्तो पर्नुको पछाडी केहि कारणहरु पनि छन् । भैरहवास्थित विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउन्ड हृयान्डलिङ लगायत शुल्कमा छुट दिईएको कारण यो विमानस्थलबाट उडान गर्दा काठमाडौँबाट भन्दा टिकटको मूल्य सस्तो पर्छ ।
हाल गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जानेहरुले उडान गर्दा सबै आवश्यक पूर्वाधारहरु नभएको कारण दोहोरो मारमा छन् । कतिपय वैदेशिक रोजगारमा जानेहरुले मेडिकलदेखि अन्य प्रक्रिया पुरा गर्न काठमाडौँनै आउनुपर्ने बाध्यता छ ।
जसको कारण सहजीकरणको सट्टा भैरहवाकै युवाले वैदेशिक रोजगारमा जान काठमाडौँ आउनुपर्ने अनि फेरी उडानको लागि भैरहवामै फर्कनुपर्ने बाध्यता समेत छ । सहजिकरणको लागि भन्दै भैरहवाबाटै अन्तिम श्रम स्वीकृति दिने भनेपनि म्यानपावरको प्रक्रिया, मेडिकल, भिसा, बायोमेट्रिक र अभिमुखीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता छ । यसको कारण वैदेशिक रोजगारमा जाने श्रमिकहरुको खर्च बढेको छ ।