२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

मुस्ताङका स्याउ छ्यापछ्यापी बजारमा !

असोज १६,बागलुङ : दुई साता भयो बागलुङमा चीन र भारतबाट स्याउ आएको छैन । बरु बजारमा भेटिने मुस्ताङको स्याउ प्रतिकेजी २ सय रुपैयाँमा बिक्री भएको छ ।

अधिकांश उपभोक्ताले मुस्ताङकै स्याउ खोज्ने भएकाले धेरै दिनदेखि अन्य स्याउ मगाउनै छाडेको स्थानीय हीरादेवी शर्माले बताइन् । मुस्ताङको स्याउ मीठो र सस्तो छ, शर्माले भनिन्, अहिले कसैले पनि अरू स्याउ खोजेकै छैनन् ।

चीन र भारतबाट आउने स्याउ कम्तीमा २ सय ५० देखि ३ सय रुपैयाँसम्म पर्छ  थोक व्यवसायीले पनि यतिबेला बाहिरको स्याउ नराखेको बताए । ट्रकमा दैनिक मुस्ताङे स्याउ आएका छन्, त्यसैले अरू स्याउ केही समय बिक्दैनन्

थोक विक्रेता मधु केसीले भने, सदरमुकाममा मात्र हैन गाउँगाउँमा पनि मुस्ताङकै स्याउ छन् । दसैं मनाउन घर जान निस्केकाले पनि मुस्ताङकै स्याउ खोज्ने भएपछि अन्य स्याउ र फलफूलसमेत बजारमा छैनन् ।

मुस्ताङका बगान फुगेर थोक वित्रेताले प्रतिकेजी ८० रुपैयाँसम्ममा खरिद गरेका छन् । कामविशेषले मुक्तिनाथ पुगेकाले खुद्रा खरिद गर्दा भने उपभोक्ताले मुस्ताङमै प्रतिकेजी १ सय ३० रुपैयाँ तिर्ने गरेका छन् ।

कागबेनी पुगेर फर्कंदा केही स्याउ ल्याउन खोजेको थोकमा नकिने महँगो पर्ने रहेछ, स्थानीय प्रेमप्रसाद पोखरेलले भने, छुट पाउन कम्तीमा दुई/चार कार्टुन नै किन्नुपर्ने रहेछ ।

मुस्ताङ जाने सडक अझै जोखिममा छ । त्यसैले मुक्तिनाथ गएर फर्कनेले स्याउ किनेर ल्याउनुभन्दा सोझै बागलुङ र बेनी झरेर खरिद गर्न सजिलो भएको बताउँछन् । बोकाएर ल्यायो, बाटैमा बास बस्नुपरे सास्ती हुन्छ, त्यसैले बेनी झरेर मात्रै स्याउ किनेर घरमा पठायौं, पोखरेलले भने, उता सबै पोको पार्नुपर्छ, बजारमा आएर किनेपछि छानेर लैजान पनि पाइन्छ ।

सडक जोखिम भएकाले भाडासमेत महँगो तिर्नुपर्दा चाहेर पनि २ सय घटीमा बेच्न नसकिएको फलफूल व्यवसायी संघका अध्यक्ष ध्रुवप्रसाद शर्माले बताए । वर्षा अझै नरोकिएकाले मेवालगायत अन्य फलफूल पनि बजारमा छैनन् ।

अघिल्ला वर्ष दसैंको मुखमा १ सय ८० रुपैयाँसम्ममा स्याउको खुद्रा मूल्य थियो । अहिले केही महँगो भएको हो । ढुवानी भाडा महँगो भएकाले अघिल्ला वर्षको तुलनामा यो मूल्य सामान्य भएको केसीले बताए । एक केजी तरकारी नै दुई सय रुपैयाँ पर्न थालिसक्यो, स्याउ त पर्ने नै भयो, शर्माले भनिन्, थोक खरिद, ढुवानी, स्टोरलगायतको खर्च कटाउँदा हामीलाई पनि फाइदा छैन । कान्तिपुरमा खबर छ ।

२०७९ आश्विन १६, आईतवार प्रकाशित 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।